भारतले एकदिवसीय र टी–२० शृङ्खला नजिते अस्ट्रेलियासँग टेस्टमा पनि ४–० को हार बेहोर्नुपर्नेछ : माइकल क्लार्क

 मंसिर ९, २०७७ मंगलबार १५:४१:३९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलिया क्रिकेट टिमका पूर्वकप्तान माइकल क्लार्कले भारत र अस्ट्रेलियाबीचको टेस्ट शृङ्खलालाई लिएर एक बयान दिएका छन् । क्लार्कका अनुसार यदि भारतीय टिमले एकदिवसीय र टी–२० शृङ्खला नजिते उसले टेस्ट शृङ्खला पनि चार–शून्यले हार बेहोर्नुपर्नेछ । 

माइकल क्लार्कले भारतीय टिम सीमित ओभर्सको शृङ्खलाबाट नै जितको बाटो समात्ने बताए । भारती क्रिकेट टिमका कप्तान विराट कोहलीले एकदिवसीय र टी–२० मा टिमलाई नजिताए टेस्टमा एक खेल पनि जित्न नसक्ने क्लार्कले बताए । 

स्काई स्पोर्ट्स रेडियोसँगको कुराकानीमा माइकल क्लार्कले भने, ‘एकदिवसीय र टी–२० शृङ्खलामा विराट कोहली अघि बढेर टिमको नेतृत्व गर्न सक्छन् । मेरो विचारमा सीमित ओभर्सको सिरिजमा काेहलीले भारतलाई कस्ताे लय दिन्छन् त्यसको ठूलो असर उनको अनुपस्थितिमा टेस्ट शृङ्खलामा पर्नेछ । यदि भारतीय टिमले एकदिवसीय र टी–२० शृङ्खला जित्न नसके ऊ निकै कठिन अवस्थामा आइपुग्नेछ र टेस्ट शृङ्खला मेरो विचारमा चार–शून्यले हार बेहोर्नुपर्नेछ ।’

भारतीय टिमका कप्तान पहिलो टेस्टपछि टिममा अनुपस्थित हुनेछन् र उनको अनुपस्थितिमा अजिन्क्या रहाणेले टिमको कप्तानी सम्हाल्नेछन् ।

अर्का ब्याट्सम्यान रोहित शर्मा टेस्ट शृङ्खलाका लागि टिममा जोडिने बताइएको थियो तर उनले पनि सिरिज गुमाउन सक्छन् । यी दुई खेलाडीको अनुपस्थितिमा भारतीय टिमलाई ब्याट्सम्यानको अभाव महसुस हुनेछ ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया