बैतडीमा जीप दुर्घटना, ५ जनाको ज्यान गयो

 मंसिर ९, २०७७ मंगलबार १५:५०:४५ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीमा मङ्गलबार जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डामा दिउँसो दुर्घटना भएको हो ।

जीप दुर्घटनामा सुर्नया गाउँपालिका ४ का ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका ५ का ७७ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७२ वर्षीय पार्वतीदेवी चन्द, पाटन नगरपालिका ५ की ७० वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावडको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा अन्य चार जना घाइते भएको र उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । तीव्र गतिमा रहेको जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । जीप सडकबाट झण्डै एक सय मिटर तल खसेको छ । 

जीपका चालक गोपाल सिंह कार्कीको टाउकोमा चोट लाग्दा अवस्था गम्भीर रहेको र उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।

जीप दुर्घटनामा ज्यान गुमाएका सबै भारतबाट पेन्सन बुझेर आउँदै गरेका रहेको बताइएको छ । गएको चैतदेखि पेन्सन बुझ्न नपाउँदा पेन्सनधारीहरुका लागि सोमबारदेखि शुक्रबारसम्मका लागि झुलाघाट नाका खोलिएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया