यातायात व्यवसायीका समस्यै–समस्या : ‘रित्ता गाडी कहिलेसम्म कुदाउनु ?’

 मंसिर ९, २०७७ मंगलबार २०:२७:० | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – कोरोनाको कारण यातायात क्षेत्र अझै स्वतःस्फूर्त रुपमा सञ्चालनमा आउन सकेको छैन । पहिलेकै अवस्थामा फर्कन कोभिड–१९ पूर्णरुपमा हटे मात्र सम्भव हुने व्यवसायीहरु बताउँछन् । कोभिडका कारण यातायात क्षेत्र अहिले धरासायी भएका छन्, गाडीसँगै घरजग्गा बैंकले लिलाम गर्ने अवस्था आउन थाल्ने भएपछि यातायात क्षेत्रका व्यवसायी त्रसित छन् । सरकारले ब्याजमा छुट दिने व्यवस्था मिलाउने, राहतको घोषणा गर्ने आश्वासन दिए पनि पूरा नभएको व्यवसायीहरु गुनासो गर्छन् । 

कोभिडकै कारण कतिपय यातायात मजदुर पलायन भइसकेका छन् भने भएका पनि पलायन हुने अवस्थामा पुगेका छन्, जसका कारण आउँदा दिनमा यातायात क्षेत्रमा मजदुर पाउनै सकस हुने उनीहरुको भनाइ छ ।

५० प्रतिशतभन्दा बढी सवारीसाधन चल्न नसक्दा त्यही अनुपातमा मजदुरको रोजगारी गुमेको छ । यस्तो अवस्थामा सरकारले राहत प्याकेज ल्याउँदै नयाँ आयात हुने सवारीसाधनको आयातलाई रोक लगाएर सञ्चालनमा रहेका  सवारीलाई प्रोत्साहन गर्नुपर्ने व्यवसायीले बताउँदै आएका छन् । संवाद समूह मोरङले यातायात व्यवसायीसँग गरेको संवादको क्रममा व्यवसायीले आफ्ना समस्याको बारेमा यस्तो धारणा राखे । 

राजन कँडेल, अध्यक्ष– पूर्व नेपाल यातायात सङ्घ

अहिले यातायात क्षेत्र समस्याग्रस्त अवस्थामा रहेको छ । अहिलेको यातायात क्षेत्र त्रासमा छ । लामो समयको लकडाउनपछि खुलेको भए पनि बसमा सिट क्षमतामा पनि मान्छे चढ्दैनन्, प्लेनले पनि भाडा घटाएको छ । हवाई जहाजले व्यवस्थित रुपमा यात्रुको व्यवस्थापन गरेको छ, हामीले पनि व्यवस्थित गरेका छौँ तर यात्रुले भनेको जस्तो सुरक्षित महसुस गर्न सकेका छैनन् ।

पहिला दोब्बर भाडा र एक (सिङगल) सिटको कुरा थियो । अहिले सबै सिटमा यात्रु राख्न भनिएको छ । आधा सिट क्षमतामा यात्रु चढाउँदासम्म गाडीलाई फाइदा नै थियो, यात्रु डराउँदैन थिए तर अहिले सबै सिटमा राख्ने भनेपछि यात्रु चढ्नै छाडे । गाडी खाली–खाली कुदाउनु पर्ने बाध्यता आयो । 

सामान्य व्यवसायीको त बैंकको ब्याजदर तिर्न र किस्ता तिर्न समस्या परेको छ भने ठूला यातायात व्यवसायीका समस्या कसरी समाधान गर्ने भन्ने पनि छ ।  हामी व्यवसायीले वाग्मती प्रदेश र प्रदेश नम्बर ५ मा दिएको जस्तो छुट हामीले पाउनुपर्छ, कागजपत्र, बैंक ब्याजदर र करमा छुट दिइनुपर्छ भनेर माग राखेका थियौँ तर सरकारले समस्याको समाधान निकाल्न सकेन ।

कस्तो पेसामा हात हालिएछ भन्ने जस्तो लाग्न थालेको छ । मजदुर पनि पीडित छन्, उनीहरु ६ महिनादेखि मुस्किलले बस्नुपर्ने अवस्था छ  । व्यवसायीले गाडी चलाउन नपाउँदा मजदुर कटौती भएका छन् । काम नभएपछि धेरै मजदुर आफ्नै गन्तव्यमा लागेका छन्  । नेपालगञ्ज, धनगढी गाडी पठायो, बाटोबाट नै फर्किनुपर्ने अवस्था छ ।  यातायात क्षेत्रमा प्रदेश १ मा झण्डै दुई अर्ब बढीको लगानी जोखिममा परेको छ ।  

किशोर धमला, अध्यक्ष– जीफन्ट प्रदेश १ 

अहिलेको तथ्याङ्कअनुसार सात लाखको हाराहारीमा मजदुर यातायात क्षेत्रमा काम गर्छन् । जबसम्म सीमा खुला हुँदैन, यातायात क्षेत्र पूर्णरुपमा सञ्चालन हुँदैन । विराटनगरबाट तीन सयदेखि तीन सय ५० वटा गाडी चल्ने गरेका थिए । अहिले लामो दुरीमा जाने गाडी तीनदेखि चार वटा मात्र छ भने छोटा दुरीका गाडी पनि  सबै चल्न सकेको छैन ।  

लामो दुरीका बसहरु गन्तव्यमा पुगेर आउन सक्ने अवस्था छैन । यातायात मजदुरहरु पलायन हुने अबस्था छ, उनीहरु लोड–अनलोड तथा विकास निर्माणको काममा लाग्न थालेका छन् । कामै नभएपछि कतिपय मजदुर गाउँ फर्किएर खेती किसानीमा लागेका छन् । बजारमा नै रहेर विकल्प नखोजेका अधिकांश मजदुरहरुको घरभाडा तिर्न सक्ने अवस्था छैन । असोज १ गतेदेखि खुलेको पोखराको गाडी आजसम्म सात टिप पनि चल्न सकेको छैन । बुकिङ, दुर्घटना, कोष तथा टिकट व्यवस्थापन गर्नेबाहेक चालक, सहचालक र मजदुर बेरोजगार नै छन्  ।

गएको वर्ष २५ लाखमा गाडी किनेकाहरू अहिले त्यो गाडी १५ लाखमा बेच्नुपर्ने अवस्थामा पुगेका छन् । यातायात क्षेत्रका मजदुर स्वोरोजगारतर्फ केन्द्रित भएकोले उनीहरु ऋणबाट मुक्त भएर आफ्नो घर जग्गा बचाउनतर्फ लागेका छन् ।  

सूर्य निरौला, यातायात व्यवसायी

मेरो गाडी हरेक दिन सङ्खुवासभाको चैनपुर जान्छ, तीन पटक इटहरीबाट फर्कियो, तीन पटक माइनसमा पुगेर आयो । अब त गन्तव्यसम्म गाडी पठाउन पनि डर लाग्न थालेको छ । बीचबाट नै फर्कनु वा माइनसमा फर्कनु भनेको बसमा यात्रु नपाउनु हो, अवस्था यस्तै नै छ । अब त चालकहरू नै पलायन हुने अवस्थामा आयो । मेरो एक जना चालक थिए, उनी अहिले तरकारी पसल सञ्चालन गरेर बसेका छन् । मालिकलाई पनि गाह्रो छ , मजदुरलाई पनि गाह्रो छ  । 

महेन्द्र ढुंगाना, यातायात व्यवसायी

हामी व्यवसायीसँग आफू लाई परेको चौतर्फी मारको कुरा मात्र छ । मजदुरलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती छ । बैंकले बारम्बार ताकेता गर्ने गरेको छ ।   लामो समय थन्किएर बसेको बसलाई दुई लाख बढी खर्च गरेर गाडी चलाउन थाल्यो, जसोतसो गरेर सडकमा निकाल्दा पनि चलाउन सक्ने अवस्था छैन । 

कोभिडका कारण होला अहिले यात्रु पाउन सकस छ । पहिला हरेक दुईदेखि तीन मिनेटमा छुट्ने गाडी अहिले झण्डै आधा घण्टाको फरकमा छुट्ने गरेको छ । हामीले सञ्चालन गरिरहेका गाडीहरूबाट बचत देखिएको छैन  । राज्यले यातायात व्यवसायीलाई राहतको व्यवस्था गरेर सहयोग गरेमा केही सहज हुने थियो । राज्यले राष्ट्र बैंकलाई भनेर ब्याजलाई व्यवस्थापन गर्न सक्छ तर त्यसको लागि कुनै पहल नै भएको छैन । बैंकमा पैसा हुनेले गाडीको किस्ता तिरेको छ, नहुनेले फोन नउठायो, बस्यो, अवस्था यस्तै छ ।

राजु धमला, सूर्योदय यातायात प्रा.लि.

बैंकको ब्याज तिर्न नसकेका यातायात व्यवसायीलाई बैंकले पनि दुःख दिने गरेको छ । बैंकले मेरो खातामा भएको पैसा आफै निकाल्छ । बैंकमा रकम हुँदासम्म ओडीबाट पनि तानेको छ । ३३ वटा गाडी एकै पटक किनेका थियौँ, हुँदा त किस्ता नियमित हालेकै थियौँ, अहिले कमाइ नै छैन । अहिले एउटा गाडीले यात्रु पाएको बेलामा पनि एक पटकमा पाँच सयदेखि सात सय ल्याउँछ । एउटा गाडीले दैनिक तीन हजारसम्म ल्यायो भने मात्र किस्ता तिर्न सक्ने अवस्था छ, नत्र सकिँदैन । अहिलेकै अवस्था सुधार आउन सकेन भने अबको केही महिनामा गाडी बैंकलाई बुझाउनुपर्ने र घरसमेत लिलामीमा गएर सडकमा आउनुपर्ने बाध्यता आएको छ । कागजजपत्र नवीकरणमा छुट, जरिबाना नलिने भनिएको थियो, त्यसमा पनि राज्यले हामीलाई बेवास्ता गरेको छ । सबै क्षेत्रबाट हामी यातायात व्यवसायीमाथि निकै ठूलो प्रहार भएको छ । 

भीम अधिकारी, कोशी बस व्यवसायी प्रा.लि.

बसपार्कबाट दैनिक तीन सयदेखि चार सयको हाराहारीमा बसहरु खचाखच भरिएर कुद्ने गरेका थिए । अहिले बसहरु बसपार्कबाट निस्कँदादेखि खाली हुँदै निस्कन्छन् अनि बाटोमा पनि यात्रु नपाएको गुनासो आउँछ ।

हामी नियमित बसपार्कमा बसेर बसहरूलाई व्यवस्थित गराउने, गन्तव्यमा छुटाउने र आएकालाई व्यवस्थापनको काम गर्दै आएका छौँ । कति मजदुर भोकभोकै भएको गुनासो आउँदा कतिपय साथीहरुले सहयोग पनि गर्नुभयो । अवस्था निकै गाह्रो छ ।    

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया