उखु किसानलाई मिलले 'ढाँट्याे'

 मंसिर १०, २०७७ बुधबार १४:२९:२२ | रासस
unn.prixa.net

सर्लाही – सर्लाहीकाे धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन । केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाण्डौ पुगेका थिए । त्यसबेला उद्योगको केन्द्रीय कार्यालयमा रहेका अन्नपूर्णका उखु प्रबन्धकले छठअघि केही रकम किसानको खातामा पठाउने आश्वासन दिएको तर किसानले अहिलेसम्म पनि भुक्तानी पाएका छैनन् ।

काठमाण्डौमा राष्ट्रपति, उद्योगमन्त्री र उद्योगका जिम्मेवारी अधिकारीलाई भेटेर एक हप्ताअघि घर फर्किएका धनकौलका किसान रामकल्याण यादवले उद्योगले धोका दिएको बताउनुभयो । उहाँका अनुसार यसपटक पनि चिनी मिलले धोका दिएर किसानलाई निराश पार्‍याे । सर्लाहीका अधिकांश किसानको आम्दानीको विशेष स्रोत, नगदेबाली उखु रहेको र त्यही उखु बेचेको पैसा नपाउँदा चाडपर्व पनि खल्लो भएको यादवको गुनासाे छ ।

'छठ अगाडि पैसा पाइएला भन्ने आशामा बसेका थियौँ । दिन्छु पनि भनेको थियो तर यसपटक पनि धोका भयो । हामीलाई चिनी मिलले ढाँट्यो', उहाँले बताउनुभयो । गएकाे वर्ष सञ्चालनमै आउन नसकेको उद्योगले तीन/चार वर्ष अघिदेखि नै किसानसँग किनेको उखुको रकम भुक्तानी गर्न बाँकी छ । भाका राखेर उद्योगले किसानलाई बारम्बार ढाँट्ने काम मात्रै गरिरहेको नेपाल उखु उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो ।

समयमै भुक्तानी नगरेर सर्लाहीका अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगले किसानलाई वर्षाैँसम्म रुवाइरहेकाे अध्यक्ष मैनालीको भनाइ छ । उद्योगले थोरै रकम देखाए पनि अन्नपूर्णले झण्डै ३० करोड रुपैयाँ र महालक्ष्मीले झण्डै ६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको किसानले बताउँदै आएका छन् । राष्ट्र प्रमुख र सरकारका मन्त्रीलाई समेत पटक–पटक गुहार्दा पनि चिनी उद्योगबाट उखु बेचेको रकम भुक्तानी नहुँदा जिल्लाका उखु उत्पादक किसान निराश भएका छन् ।

किसानको पुरानो बक्यौता बाँकी राख्ने अन्नपूर्ण र महालक्ष्मी दुवै उद्योग यसपटक फेरि सञ्चालन गर्न उखु क्रसिङ गर्ने गरी प्रविधि मर्मतको काम भइरहेको छ । तीन/चार वर्ष पहिलादेखिको किसानका भुक्तानी बाँकी राखेका उद्योग फेरि सञ्चालनको तयारी गर्नु आफ्ना लागि थप पीडादायी हुने किसानको भनाइ छ । किसानले पटक–पटक आन्दोलन गर्दा पनि यी दुई उद्योगले किसानको भुक्तानी गर्न आनाकानी गरिरहेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया