ट्रम्पद्वारा 'ह्वाइट हाउस छाड्ने सङ्केत'

 मंसिर १२, २०७७ शुक्रबार १४:१२:१८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टरल कलेजले आफ्ना प्रतिस्पर्धी जो बाइडेनको विजयी भएको आधिकारिक पुष्टि गरे आफूले ह्वाइट हाउस छाड्ने बताएका छन् । 

राष्ट्रपति ट्रम्पले गएको ३ नोभेम्बरमा भएको मतदानमा आफ्नो हार स्वीकार गर्न मानेका थिएनन् र बिहीबार पत्रकारहरुसँग भने, ‘यो स्वीकार गर्न कठिन हुनेछ ।’

उनले एकपटक फेरि मतदानमा धाँधली भएको निराधार दाबीलाई दोहोर्याएका छन् । अमेरिकी राष्ट्रपतिको चुनाव गर्न अपनाइने पद्धतिअनुसार बाइडेनले अहिलेसम्म ३०६ र ट्रम्पले २३२ मत प्राप्त गरेका छन् । जितको लागि २७० मत आवश्यक हुन्छ । कुल मतको आधारमा पनि बाइडेन ६० लाख मतले अघि छन् ।  

इलेक्टरल कलेज मतमा अन्तिम घोषणा गर्नको लागि आउँदो महिना बैठक हुनेछ । आउँदो १४ डिसेम्बरमा अमेरिकी इलेक्टरल कलेजले बाइडेनको जितको पुष्टि गर्नेछ ।  

इलेक्टरलको पुष्टिपछि जो बाइडेनले २० जनवरीमा राष्ट्रपति पदको शपथ लिनेछन् । 

राष्ट्रपति ट्रम्प र उनका समर्थकहरुले चुनावलाई लिएर कैयौँ मुद्दा दर्ता गराएका छन् तर तीमध्ये धेरैजसो मुद्दा खारेज भइसकेको छ । 

यो हप्ताको सुरुवातमा ट्रम्पले अनिश्चितताको कैयौँ हप्तापछि अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनको टिमलाई औपचारिक रुपमा सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्न अनुमति दिन सहमति जनाएका थिए ।

यसको अर्थ २० जनवरीमा शपथ ग्रहण गर्न गइरहेका बाइडेन अब शीर्षस्तरमा सुरक्षा अधिकारीहरुसँग जानकारी लिन सक्नेछन् र प्रमुख सरकारी अधिकारीहरु र लाखौँ डलरको कोषको मामिलामा पनि उनको पहुँच हुनेछ । 

बिहीबार ट्रम्पलाई ‘यदि १४ डिसेम्बरको इलेक्टरल कलेजको मतमा तपाईँले हार्नुभयो भने ह्वाइट छोड्न तयार हुनु हुनेछ ?’ भनेर सोधिएको थियो । यसको जवाफमा उनले भने, ‘निश्चित रुपमा म गर्नेछु, निश्चित रुपमा म गर्नेछु र तपाईँलाई यो थाहा छ ।’ 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया