खुरुखुरु अघि बढे १० वर्षमा नेपालले टेष्ट क्रिकेट खेल्छ : जगत टमाटा

 साउन २८, २०७५ सोमबार २०:४२:५५ | लक्ष्मण कार्की
unn.prixa.net

काठमाडौं – लामो समयसम्म नेपालको अण्डर–१९ राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक रहेका जगत टमाटाले नेपाली सिनियर क्रिकेट टोलीलाई पनि सफलता दिलाउने क्रममा रहेका छन् । 

पछिल्लो समय नेदर्ल्याण्ड्ससँगको पहिलो एकदिवसीय खेलमा नेपालले रोमाञ्चक जित हात पारेपछि अब टमाटा एसिया कपका लागि केन्द्रित भएका छन् । यीनै सेरोफेरोमा आधारित भएर लक्ष्मण कार्कीले प्रशिक्षक जगत टमाटासँग गरेको कुराकानी प्रस्तुत  छ :

तपाईँको प्रशिक्षणमा नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्यो । यो ऐतिहासिक क्षणमा पर्दा पछाडिको नायकका रुपमा रहनुभयो । आफ्नो प्रशिक्षणमा आफ्नो देशलाई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलाइरहेको छु भन्दा कस्तो लाग्दो रहेछ ? 

मैले नेपाली क्रिकेट टिममा खेलाडी, सह–प्रशिक्षक र मुख्य प्रशिक्षक भएर काम गरेँ, गरिरहेको छु । १९ वर्षमुनिको टिमलाई तीन पटक विश्वकपसम्म पुर्याएँ । सबै भूमिकामा मलाई राष्ट्रिय टिममा रहन पाउँदा एकदमै खुशी लाग्छ । खासगरी नेपालले ट्वेण्टी–ट्वेण्टीमा विश्वकप खेल्दा र अन्तर्राष्ट्रिय एकदिवसीयको मान्यता पाउँदाको क्षण सबैभन्दा धेरै खुशीको क्षण हो । यो दुर्लभ अवसर पनि हो । मैले क्रिकेटलाई लगातार गरिरहेको माया र सम्मानका कारण यो अवसर क्रिकेटले पनि मलाई दिएको हो भन्ने लाग्छ । 

मैले नेपालबाट १९९६ मा एसीसी ट्रफी खेलेको थिएँ । तर खेलाडीका रुपमा र प्रशिक्षकका रुपमा जिम्मेवारी बेग्लै र धेरै हुन्छ । प्रशिक्षक पर्दा पछाडि बसेको डाइरेक्टर जस्तो हो । जसले एउटा प्रोगाम बनाएको हुन्छ । खेलाडीले त्यसलाई साकार पारिदिए भने खेल जितिन्छ र गर्व हुन्छ । त्यो प्रोग्राम अनुसार अघि बढ्न सकिएन भने दिक्क पनि लाग्छ । नमज्जा हुन्छ तर त्यो सवै देखाउन सकिंदैन र हुँदैन पनि । सम्हाल्नुपर्छ आफैले आफूलाई । 

जति सफलता हात परेको छ म खुशी नहुनुपर्ने कारण छैन । तर यो सबै मेरो मात्र कारणले आएको होइन । यसअघिका प्रशिक्षकहरु, विदेशी प्रशिक्षकहरु, सरकार, क्यानको भूमिका महत्वपूर्ण छँदैछ अझ मुख्य भूमिका त खेलाडीको छ । मैदानमा उनीहरुले खेलिदिएनन् भने कुनै पनि योजना साकार हुन सक्दैन । नेपाली खेलाडी साह्रै मेहनती र देशका लागि सक्दो गर्ने खालका छन् । चुनौतीसँग जुधेर काम गर्न मज्जा लाग्छ मलाई ।  

प्रशिक्षकले धेरै आरोप पनि सहनुपर्छ,  कसलाई खेलायो, खेलाएन ? कहाँ खेलायो भन्ने जस्ता कुरामा धेरै कुरामा मानिसहरुले टिकाटिप्पणी गरिरहेका हुन्छन् है ?

हो नि । प्रशिक्षकका लागि खेलाडी छनोट र त्यसलाई पुष्टि गर्न सक्नु महत्वपूर्ण कुरा हो । धेरै खेलाडीबाट १४ जना समेट्न गाह्रो हुन्छ । टिम छनोटमा कुन खेलाडीलाई कुन पोजिसनमा खेल्ने खेलाडी चाहिएको हो भन्ने कुरा टुंग्याउनुपर्छ । यो निकै अपजसे काम हो ।

कुन खेलाडीको  विशेषता के हो ? उसको राम्रो र नराम्रो कुरा के के हो ? को कस्तो प्रेसरमा खेल्न सक्छ र टिमलाई चाहिएको कस्तो खेलाडी हो भन्ने जस्ता कुरालाई ख्याल गर्नुपर्छ । आखिरमा टीमले जितोस देशले जितोस भनेर नै यो सब गरिएको हुन्छ तर नतिजा त्यस्तो सधैँ हुँदैन । त्यसो भएन भने नि आलोचना खेप्नुपर्छ । सुरुमा टिमलाई ब्यालेन्स बनाउने कुरा हुन्छ । हामीले आफ्ना आफन्तलाई राख्ने कुरा त होइन नि जसले मैदानमा प्रमाणित गर्न सक्छ जसले अभ्यासमा गज्जब गर्छ उसले मौका पाउने हो । 

अहिले हाम्रो राष्ट्रिय टिममा कस्तो पोजिसनमा खेल्ने खेलाडीलाई धेरै मौका छ त ? 

राष्ट्रिय टिममा ओपनिङमा खेल्ने खेलाडीको अहिले पनि अभाव छ । त्यसैले ओपनिङमा राम्रो गर्न सक्नेले मौका छिटो पाउने सम्भावना छ तर मिडिल अर्डर र लोअर मिडिल अर्डर राम्रो भएकाले त्यहाँ मौका पाउने खेलाडीले धेरै प्रमाणित गर्नुपर्छ । यदि मिडिल अर्डरमा खेलेर पनि अगाडि आउन सक्ने क्षमता छ भने त्यसको मौका बढी हुन्छ । अहिलेको हाम्रो टिम गोल्डेन जेनेरेसनको टिम हो । 

तपाईँ खेलाडीका रुपमा आफूले क्रिकेट खेल्दा ताका र अहिले नेपालबाट क्रिकेट खेल्ने खेलाडीहरुको अवस्थामा के भिन्नता पाउनुहुन्छ ?

हाम्रो पालामा यस्तो सुविधाहरु थिएन । खेलाडीलाई खासै कसैले चिन्दैन थियो त्यसबेला भने अहिले मेरो छोरा पारसजस्तो होस् भन्ने धेरै अभिभावकहरु छन् । खेलाडी बनोस् मेरो बच्चा भन्ने बाउआमालाई लागेको छ । बुवा आमाले बच्चालाई एकेडेमीमा लिएर जान थालेका छन् । यो सकारात्मक परिवर्तन हो । खेलेर जीविकोपार्जन गर्नसक्ने अवस्था पनि विस्तारै आउँदैछ ।

राष्ट्रको लागि योगदान गरेको भन्न पनि पाइन्छ । यो ठूलो कुरा हो नि । ओडीआई खेल्दैछौ अहिले यो त गर्वको कुरा हो । हामीले त भागिभागी अभिभावकको कुटाई खाएर खेल्थ्यौँ । 

नेदरल्याण्ड्ससँगको खेलमा हाम्रो प्रदर्शनबारे के भन्नुहुन्छ ? 

देशले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाउनु आफैमा चानचुने कुरा होइन । नेपालका कतिले त्यो कुरा बुझेका छन् भन्ने कुरा बेग्ले हो । तर पनि फ्यानहरुले नेपालीहरुले जुन स्याब्बासी हामीलाई दिइरहेका छन् त्यसका लागि हामी कृतज्ञ छौँ । समर्थनका कारण पनि हाम्रो मनोबल बढेको हुन्छ । 

नेदरल्याण्डसँगको पहिलो खेल राम्रो सुरुवात गरेर पनि हारियो । सायद ड्रेसिङ रुममा पनि अलि रिल्याक्स गर्यौँ कि ? वल्र्ड क्रिकेट लिगको च्याम्पियन टोली हो तर हामीले पनि नेदरल्याण्ड्सलाई उसकै घरमा गएर पनि हराएका छौँ । हामीले त्यो सकारात्मक कुरालाई लिएर अघि जाने हो ।

२ खेलमा हामीले गरेको प्रदर्शनसँग म सन्तुष्ट छु । खासमा नयाँ टिम जुन आएको छ त्यसप्रति एकदमै धेरै विश्वास गर्न सकिन्छ । अण्डर १९ बाट आएका केटाहरु एकदमै जुझारु र क्षमतावान छन् । अघिल्लो पुस्ताको अनुभव र यो जुझारुपन मिलेर नयाँ टिम एकदमै राम्रो छ । 

नेपाली टिमले रोमाञ्चक जित हात पार्ने गरेको छ । हार्छ होला भनेका खेलहरु अन्तिम ओभरतिर जित हात पार्छ यस्तो योजना नै बनाउनुभएको हुन्छ कि संयोग मात्र हो यो ? 

यसरी जितौं भन्ने योजना नै त हुँदैन । हामी जित्ने लक्षसहित मैदानमा उत्रेका हुन्छौँ । तर जब–जब हामी संकटमा परेको जस्तो हुन्छ त्यो बेला हाम्रो टिममा अझ धेरै शक्ति आउँछ । हामी राम्रो कृकेट खेल्न खोज्छौँ हाम्रो टीमको खुशी, फ्यानको समर्थन र पशुपतिनाथको कृपाले गर्दा होला नतिजाहरु त्यस्तो हुन्छ । 

पारसको मात्र प्रदर्शनमा अझै कति भर पर्ने नेपाली टिम ?

यो टिम गेम हो पारसले मात्र गरेर जित्ने भन्ने त होइन । तर उ सेनापति हो उसको प्रदर्शनले सबैलाई प्रभाव पार्छ । लिडरका रुपमा त्यो स्वभाविक पनि हो । उसको माइण्ड शार्प छ । तत्काल निर्णय गर्न सक्छ । अरुले पनि नगर्ने होइनन् तर पारसले सेनापतिले निर्वाह गर्नुपर्ने भूमिका कप्तानका रुपमा मज्जासँग निर्वाह गरेको छ ।  

एसियाली छनोटका लागि तयारी कस्तो हुँदैछ ?

यसका लागि मंगलबारदेखि कीर्तिपुरमा अभ्यास गर्दैछौं । भारतबाट ब्याटिङ कन्सल्ट्याण्ट आउने भएका छन् । त्यहाँबाट छनोट हुने एक टिमले भारत पाकिस्तानसँग खेल्न पाउनेछन् अब क्रिकेटमा भारत र पाकिस्तानसँग खेल्न पाउँ भन्ने चाहना कसलाई नहोला र ? त्यहि भएर हामी  त्यसै अनुसार खेल्नेछौं । सबैको सपना नै छ यो सबै टिमको । यस्तो दुर्लभ क्षण कमै मात्र पाइन्छ त्यही भएर यो सपना हामी पूरा गरेरै छोड्नेछौँ । 

६ दिन अभ्यास गरे हामी त्यहाँँबाट श्रीलंका गएर केही क्लबहरुसँग खेल्नेछौं श्रीलंकाली लिग खेल्ने तीनवटा टिमसँग खेलेपछि हामी उतैबाट मलेसिया जानेछौँ । म सबै फ्यानहरुलाई भन्न चाहन्छु हामीलाई समर्थन गर्नुहोस् हामी क्रिकेट खेलेर तपाईँहरुलाई सधैँ खुशी बनाउँछौं । 

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता त पाइयो तर अहिलेकै जस्तो भद्रगोल भइरहने हो भने चार वर्षमै यो मान्यता खोसिन्छ भन्नेहरु पनि छन् नि ? 

हामीले अन्तर्राष्ट्रिय एकदिवसीयमा नेदरल्याण्ड्ससँग दुई खेल खेल्यौ र एक खेल जित्यौँ पनि, उसकै घरमा गएर । यसको खुशी बयान गरेरै सकिँदैन । नेपाली क्रिकेटलाई माया गर्ने सबैका लागि खुशीको कुरा हो । खेलाडी र कोचका लागि त खुशीसँगै हौसलाको विषय पनि हो ।

तर यतिमात्र भनेर पुग्दैन किनकी यो उपलब्धि उत्तिकै चुनौतीपूर्ण पनि छ । जति दुःखका साथ यो मान्यता पाइएको छ यसलाई जोगाइराख्न पनि अझ त्यो भन्दा धेरै मेहनत आवश्यक छ । अल्पकालीन र दीर्घकालीन योजना बनाएर लागू गर्न आवश्यक छ । उदाहरण त हामी आफै छौँ नि । 

ट्वेण्टी–ट्वेण्टीको मान्यताको उदाहरण दिन खोज्नुभएको ? 

हो नि । हामीले यसअघि पनि ट्वेण्टी–ट्वेण्टीको मान्यता पाएका थियौँ । तर त्यसलाई जोगाउन सकेनौँ । यसले हामीलाई गतिलो पाठ पढाएको छ । ट्वेण्टी–ट्वेण्टीको विश्वकप नै पनि खेल्यौं । त्यसैले कुनै पनि उपलब्धि हासिल गर्न जति सजिलो छ उत्तिनै त्यसलाई जोगाउन छ । यो कुरा खेलाडी र प्रशिक्षकले त बुझेका छन् । सरकारले पनि बुझ्न पर्यो । क्रिकेट संघले पनि बुझ्न पर्यो । 

के–के गर्नुपर्‍याे त अब ?

अब यतिमात्र लगानी र क्षमताले हुँदैन । कम्तीमा ७ प्रदेशमा एक–एकवटा राम्रो मैदान हुनुपर्छ । ती मैदान घाँसे होउन् । हरेकमा चार पाँचवटा विकेट होउन् । त्यसैगरी हरेक प्रदेशमा एक–एक तालिम कन्द्र होस् कम्तीमा । हामीले अब घरेलु क्रिकेटको संरचना पनि फेर्नुपर्छ ।

वर्षमा कम्तीमा एक प्रदेशले ५ वटा एकदिवसीय खेल गराओस् । ट्वेण्टी ट्वण्ेटीमा निजी क्षेत्रले गरिरहेका प्रतियोगितासँग प्रदेश  सरकारले पनि साझेदारी गरुन् ।  र क्लब रेलिगेसनमा पर्ने व्यवस्था गर्नुपर्छ । 

जस्तो अहिले बीसीसीआईले नेपाली टोलीलाई भारतमा खेल्न बोलायो । यसको अर्थ उसले नेपाली टिमको क्षमतालाई चिन्यो भन्ने हो । यस्तो मौका खेलाडीले पाइरहनका लागि त उनीहरुले आफूलाई प्रमाणित गर्न अवसर पाउनुपर्यो । घरेलु लिग संरचनालाई परिवर्तन गरी ५० ओभर र रेलिगेसनसहितको क्लब र डिभिजनको संरचनामा लैजानुपर्छ । जसले गर्दा क्लब पनि बलियो हुन्छ र खेलाडी पनि धेरै आउँछन् । टिम बलियो हुन्छ । जिल्ला तहमा मात्र होइन विद्यालय तहसम्म पनि क्रिकेटलाई लैजानुपर्छ विस्तारै । 

अब ४ वर्षका लागि ओडीआई मान्यता पाइएको छ । यसलाई कायमै राख्न अरु देशलाई पनि बोलाएर खेलाउनुपर्यो र खेल्न बाहिर पनि जानुपर्‍याे । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि धेरै देश नेपाल आउन तयार छन् । जस्तो नेदरल्याण्ड्स आउन तयार छ । अफगानस्तानलाई बंगलादेशलाई बोलाउन सकिन्छ । तर यी सबै कामको पहल गर्ने त संघले हो । संघ पहिलो शर्त हो नि ।

आशा गरौँ यो महिनाको अन्तिमसम्ममा आईसीसीले नेपाली क्रिकेटबारे राम्रो निर्णय गर्नेछ । हामीले पनि पहल त गरिरहेका छौँ तर संघ नहुँदासम्म त्यो पूर्ण हुँदैन । क्रिकेट संघ त पहिलो शर्त हो नि अबका लागि । 

सरकारले वा प्रशंसकले जितेको बेलामा खुब प्रशंसा गर्छन् तर अर्को कोणबाट हेर्दा हारेको बेला यसरी खेल्ने भन्ने खालको सुझाव पनि त चाहिन्छ होला नि ? 

पक्कै पनि, सरकारले जति गरिरहेको छ त्यो महत्वपूर्ण छ । फ्यानको कुरा त जति धन्यवाद दिए पनि कमै हुन्छ । तर यो मात्र पर्याप्त चाहिँ छैन । यसका लागि खेल बढाउनुपर्यो । आयोजक, प्रायोजक, सरकार, प्रशंसक सवैले आफ्नो लगानी योगदान बढाउन पर्छ । 

अब खेलाडीले आफ्नै जोडबलमा खेलिरहेका हुन्छन् तर उनीहरु टिममा परेनन् भने के गर्छन् भन्नेबारे कसैले विचार गर्दैन । उनीहरु कति पीडामा बसेका हुन्छन् घरपरिवारको गाली खाइरहेका हुन्छन् त्यसतर्फ पनि ध्यान दिनुपर्छ ।

खेलाडीका लागि राज्यले सम्मान गरिदियो, सन्यास लिएका खेलाडीलाई जीविकोपार्जनको ब्यवस्था गरिदियो भने अरु खेलाडीका लागि पनि प्रोत्साहन हुन्छ । अस्पतालले उपचारमा छुट दिन सक्ला, बीमाको कुरा आउला यस्ता धेरै कुराहरु छन् नि । 

नेपालले टेष्ट क्रिकेट खेलेको सपना कहिले पूरा होला ?

यो पूरा हुने सपना हो । हामीले बल्ल क्रिकेटको क लेख्दैछौं । अब राम्रोसँग अघि बढ्न सकियो र सवै कुराहरु भयो भने अबको १० वर्षमा हामी टेष्ट खेल्नेछौँ । तर लेख्न थालेपछि क पछि अरु अक्षरहरु पनि लेख्न पर्यो । बीचमै छोडेर त फेरि क पनि लेख्न भुलिएला । त्यसैकारण अब संरचना बनाएर तत्कालीन र दीर्घकालीन सोच बनाएर क्रिकेटको विकासमा हामी सबैजना लाग्नुपर्छ । 

 

अन्तिम अपडेट: चैत १५, २०८०

लक्ष्मण कार्की

उज्यालोमा कार्यरत लक्ष्मण कार्की राजनीति, समाज, खेल र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।  

तपाईको प्रतिक्रिया