सन् २०३० को मध्यपछि पेट्रोल कारको बिक्री बन्द गर्ने जापानकाे योजना

 मंसिर १८, २०७७ बिहीबार १८:१९:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एएफपी

काठमाण्डाै – जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आउँदाे १५ वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ । 

जापानी सञ्चारमाध्यमहरूका अनुसार अर्को हप्ताभित्रै जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको छ । जापानी अखबार माइनिची शिमबुनले स्रोत उद्धृत नगरि प्रकाशन गरेको समाचारमा जापानले विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्रीलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ ।

प्रधानमन्त्री योशिहिदे सुगाले गएकाे अक्टोबरमा जापानलाई सन् २०५० भित्र कार्बन तटस्थ देशको दाँजोमा उभ्याउन आवश्यक पहल गर्ने घोषणा गर्नुभएको थियो । प्रधानमन्त्री सुगाले आफ्नो नीति सार्वजनिक गरेलगत्तै ठूला कम्पनीहरूले कार्बन उत्सर्जनलाई नियन्त्रणमा ल्याउने योजनाको मस्यौदा निर्माण गर्न दबाब सिर्जना भएको थियो । 

जापानको त्यस कदमको वातावरण अभियन्ता र राष्ट्र सङ्घले स्वागत गरेका छन् । जापान अहिले पनि जैविक इन्धनमा ठूलो मात्रामा निर्भर रहेको छ । सरकारले भने जैविक इन्धनको विकल्पमा के–कस्ता इन्धन प्रयोगमा ल्याइनेछ भन्ने विस्तृत कार्ययोजना सार्वजनिक गरिसकेको छैन । 

सरकारले सन् २०३० सम्ममा अति न्यून कार्बन उत्सर्जन गर्ने कार (विद्युतीय र हाइब्रिड) को बिक्रीलाई ५०–७० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । सन् २०१९ मा न्यून कार्बन उत्सर्जन गर्ने कारको बिक्री ४० प्रतिशतको हाराहारीमा पुगेको छ ।

गएकाे सेप्टेम्बरमा अमेरिकी राज्य क्यालिफोर्नियाले सन् २०३० सम्ममा आफ्नो राज्यमा बिक्री गरिने कार शून्य–उत्सर्जनयुक्त हुनुपर्ने घोषणा गरेको थियो ।

यसैबीच बेलायतले अझ महत्त्वाकाङ्क्षी योजना अघि बढाएको छ । सन् २०३० सम्ममा बेलायतमा सबै प्रकारका पेट्रोल र डिजल सञ्चालित कारमाथि प्रतिबन्ध लगाउने बेलायत सरकारले घोषणा गरेको छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया