बाइडेनको पहिलो काम : ‘सय दिन मास्क लगाऔँ’ अभियानकाे तयारी

 मंसिर १९, २०७७ शुक्रबार १४:२८:१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रूपमा आफ्नो पहिलो काम मास्कसम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् । उनले आफ्नो कार्यकाल सुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै ‘सय दिन मास्क लगाऔँ’ अभियान चलाउने बिहीबार जानकारी दिएका हुन् ।  

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसको महामारी फैलिन नदिनका लागि मास्क लगाउनु पर्ने मान्यताको विपक्षमा उभिँदै आएका छन् ।

राष्ट्रपतिमा नवनिर्वाचित बाइडेनले ट्रम्पको मान्यतालाई गलत साबित गर्ने गरी मास्कको प्रयोग गर्न प्रोत्साहन गर्ने अभियान ल्याउन लागेका हुन् । 

अमेरिकामा गएको नोभेम्बर ३ मा भएको चुनावमा पनि मास्कको प्रयोग गर्ने वा नगर्ने विषयमा नेताहरू विभाजित हुँदा यस विषयले राजनीतिक रूप लिएको थियो । 

मास्कको प्रयोगको विपक्षमा राष्ट्रपतिलगायतका व्यक्तिहरू नै लागेकाले अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण धेरै फैलिएको र धेरै मानवीय क्षति भएको टिप्पणी पनि हुँदै आएको छ ।  
राष्ट्रपति ट्रम्पले मास्कको प्रयोग गर्न लगाएको भए महामारी न्यून हुने विश्वास र दाबी धेरैले गरेका छन् ।

अमेरिकामा कारोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म दुई लाख ७५ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

राष्ट्रपतिमा निर्वाचित बाइडेनले भने चुनाव अगाडिदेखि नै मास्कको प्रयोग सबैले गर्नुपर्नेमा जोड दिँदै आएका थिए । उनले महामारी नियन्त्रणका लागि मास्कको प्रयोग अति प्रभावकारी र उपयोगी हुने भएकाले आफ्नो प्रशासनले त्यसअनुसारको निर्णय र कार्यक्रमहरू ल्याउने बताएका छन् । 

मास्कको प्रयोगविना महामारी अन्त्य गर्न नसकिने भएकाले मास्कको प्रयोग बढाउन र सबैलाई त्यसका लागि प्रेरित गर्न उनले अभियान नै चलाउने तयारी गरेका हुन् ।  

आफूले आउँदो जनवरी २० तारिखका दिन राष्ट्रपतिको जिम्मेवारी सम्हालेकै दिन मास्क प्रयोगका लागि सबैलाई आह्वान गर्ने र अभियान चलाउने सीएनएनसँगको कुराकानीका क्रममा बाइडेनले बताएका छन् । 

अमेरिकामा हरेक चार चार वर्षमा राष्ट्रपति चयनका लागि चुनाव हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन नवनिर्वाचित राष्ट्रपतिलाई ह्वाइट हाउस प्रवेश गराउने व्यवस्था रहेको छ ।

आउँदो जनवरी २० मा ह्वाइट हाउस प्रवेश गर्ने बाइडेनले भने, ‘मैले पदबहाली गरेका दिन सबै अमेरिकीहरूलाई मास्क प्रयोगका लागि अपिल गर्नेछु । यो नै मेरो पहिलो काम हुनेछ ।’ 

उनले मास्क प्रयोग गर्न आह्वान गर्ने अभियान सय दिनको मात्र हुने र त्यसपछि अनिवार्य नगरिने पनि स्पष्ट पारे । सय दिन सबै अमेरिकीले मास्क प्रयोग गरेमा महामारी धेरै न्यून हुने र यसले सहजता ल्याउने विश्वास पनि उनले व्यक्त गरे ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया