महिला हिंसाको चित्रण गरिएको नाटक ‘वीररुपा’

 मंसिर २१, २०७७ आइतबार १३:२२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा शनिबार मण्डला थिएटरमा ‘वीररुपा’को प्रदर्शन भएको छ ।

यूएनडीपी र पीएसपीको सहयोगमा स्पेस र मण्डला थिएटरले संयुक्त रुपमा नाटक प्रदर्शन गरेका हुन् । नाटकले समाजमा व्याप्त संरचनागत तथा व्यावहारिक कारणले भैरहेका महिला हिंसाका घटनाका विभिन्न चार प्रतिनिधि सवालहरु प्रस्तुत गरेको नाटकका निर्देशक सुरेश चन्दले जानकारी दिनुभयो ।

नाटकमा रक्षा एक बुवा विहीन छोरीको भूमिकामा छिन् । उनी कामको सिलसिलामा विभिन्न कार्यालयहरुमा पुग्छिन् । तर सेवा भने सहज रुपमा प्राप्त गर्न सक्दिनन् । नेपालको संविधानले आमाको नामबाट कानूनी कागजात लगायत महिला अधिकारसँग सम्बन्धित कयौं सवालहरुको संवैधानिक ग्यारेण्टी गरे पनि व्यवहारमा भने यसको कार्यन्वयन फितलो रहेको यर्थाथता रक्षा नामको पात्रमार्फत देखाइएको छ ।

रक्षाको जस्तै कहानी छ रुपाको पनि । उनका बुवाआमा छैनन् । उनी हजुरआमाको संरक्षणमा हुर्किरहेकी हुन्छिन् । बुवाको खोजी गर्ने उनको अठोट निराशामा परिणत भएपछि अब आफैं सक्षम बनेर समाज सुधारको अभियानमा लाग्ने अठोट गर्छिन् । यो पात्रले महिला आफैं सशक्त भए मात्रै महिला अधिकारका सवालमा गुणात्मक फड्को मार्न सकिने यथार्थता प्रस्तुत गरेको छ ।

महिलामाथि कार्यस्थलमा हुने हिंसा पनि उत्तिकै संवेदनशील विषय हो । हत्तपत्त बाहिर नआउने यस्ता अपराध भित्रभित्रै व्याप्त भएको हुन सक्ने विश्लेषण गरिन्छ । नाटकमा आशा नामकी पात्रमार्फत यही यथार्थता प्रस्तुत गरिएको छ । नाटकमा आशा जागिरको सिलसिलामा विभिन्न कार्यालयमा गएको तर प्रत्येक कार्यालयमा हिंसाको सामना गर्न वाध्य पारिएपछि आफै समाज सुधारको अभियानमा होमिने अठोट गरेको सन्दर्भलाई जोडिएको छ ।

यस्तै नाटकमा विजया नामक पात्रको कथाले पनि हाम्रै समाजको यथार्थता बोकेको छ । उनी श्रीमानसगँको सल्लाह र समझदारीमा नै जागिरमा जान्छिन् । बिस्तारै उनीमाथि श्रीमान् र समाजले शंका गर्न थालेपछि सुरु भएको मनमुटाव उत्कर्समा पुग्छ र श्रीमानले आवेगमा श्रीमतीमाथि तेजाब आक्रमण गर्छन् । त्यसपछिको उनको कानुनी लडाइँका सघंर्षहरु नाटकमा प्रस्तुत गरिएको छ ।

नाटकमा महिला हिंसा विरुद्धका कानुनहरु पर्याप्त भए पनि त्यसको कार्यान्वयन र सेवा प्रवाहको अवस्था निकै कमजोर रहेकाले सुधारको आवश्यकतामा जोड दिइएको छ । वीररुपा नाटकमा प्रस्तुत गरिएका यी चार पात्रको भोगाइहरु हाम्रो समाजका केही प्रतिनिधि उदाहरणहरु मात्रै हुन् । यी प्रवृत्तिहरुमा सुधार ल्याउनका लागि सरकार, नागरिक समाज र सबै सरोकारवालाहरुको सामुहिक अठोट र प्रतिबद्धताको खाँचो छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया