अर्जेन्टिनामा लखपतिहरूबाट थप कर असुलेर गरिबकाे उपचारमा खर्च गर्ने कानुन पारित

 मंसिर २१, २०७७ आइतबार १४:५:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अर्जेन्टिनामा लखपतिहरूबाट थप कर असुल्ने कानुन पारित भएको छ । कोरोना भाइरस महामारीको कारण निम्न आय भएका नागरिकलाई परेको असर कम गर्न करसम्बन्धी नयाँ नीति पारित भएको बीबीसीले जनाएको छ ।

लखपतिहरुबाट असुल भएको थप कर कोरोनाविरुद्धको औषधी उपचारमा खर्च हुनेछ र यस्तो खर्च विशेष गरेर निम्न आय भएका व्यक्तिमा केन्द्रित हुनेछ । संसदमा भएको मतदानमा नयाँ कर नीतिको पक्षमा ४२ र विपक्षमा ३६ मत खसेको थियो ।

नयाँ कानुन अर्जेन्टिनाका २० करोड पेसो अर्थात् २५ लाख डलरभन्दा धेरै सम्पत्ति रहेका लखपतिहरुमा लागू हुनेछ । यस्ता लखपतिले देशभित्र भएको सम्पत्तिको साढे ३ प्रतिशत र देशबाहिर भएको सम्पत्तिको ५ दशमलव २५ प्रतिशत कर सरकारलाई बुझाउनुपर्नेछ । अर्जेन्टिनामा २५ लाख डलरभन्दा धेरै सम्पत्ति हुनेको सङ्ख्या १२ लाखभन्दा धेरै रहेको छ ।

नयाँ कर नीतिबाट तीन सय अर्ब पेसो सङ्कलन हुने अनुमान छ । यसरी धनीबाट सङ्कलन भएको करको २० प्रतिशत रकम औषधी उपचारमा, २० प्रतिशत मझौला उद्यमीको सहयोगमा, २० प्रतिशत छात्रवृत्तिमा, १५ प्रतिशत सामाजिक विकासमा र २५ प्रतिशत रकम प्राकृतिक ग्याससँग सम्बन्धित उद्योगमा खर्च गरिनेछ ।

अर्जेन्टिनामा अहिलेसम्म १५ लाख जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएकोमा ४० हजारभन्दा धेरैको ज्यान गएको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया