माेरङ हत्या प्रकरण : घटना भएकाे सात घण्टासम्म पनि प्रहरी पुग्न सकेन

 मंसिर २३, २०७७ मंगलबार १५:७:४७ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – मोरङको मिक्लाजुङ गाउँपालिका १ रमितेको बर्खेमा शिक्षकको हत्या भएको सात घण्टा बितिसक्दा पनि प्रहरी अझै पुग्न सकेको छैन । बिहान सात बजेको समयमा आएका नचिनेका मानिसका समूहले मिक्लाजुङ १ बर्खेमा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेका थिए ।

६ जना नचिनेका मानिसकाे समूहले शिक्षकलाई घरबाट टाढा लिएर गएपछि गाउँमा हल्लाखल्ला मच्चिएको थियो । साढे ६ बजे घरमा काम गरिरहेका शिक्षकलाई घरमा आएको समूहले केही काम छ भनी लगेको स्थानीय बताउँछन् ।

हत्या भएलगत्तै प्रहरीलाई खबर गरेका स्थानीयले हत्या भएको झण्डै सात घण्टा बित्दा समेत प्रहरी नआएकोमा आफूहरू अचम्ममा परेकाे बताए । मृतकका भाइका अनुसार बिहान ७ बजेतिर हत्या भएपछि प्रहरीलाई खबर गरिएको थियो तर अहिलेसम्म प्रहरी आइपुगेको छैन । 'जङ्गलको बीचमा शव लडिरहेको छ, हामी गाउँमा छौँ, प्रहरीको प्रतीक्षा गरेको लामो समय भइसक्यो, अहिलेसम्म आइपुगेको छैन', उहाँले भन्नुभयाे ।  

यस्तो अवस्थामा हत्या

मङ्गलबार बिहान ६ बजेतिर सबै घरगोठको काममा व्यस्त थिए । गाउँघरका सबै व्यस्त नै हुन्छन् । चिसोको समय भएकोले कोही अँगेनोमा, कोही बाख्रालाई घाँस हाल्न त कोही गोबर सोहर्न व्यस्त थिए । शिक्षक राजेन्द्र श्रेष्ठ घरमा गाई ब्याउन लागेकोले गाईको स्याहार सुसार गरिरहनुभएकाे थियाे । बोलीचालीमा भतिज अनि साइनोमा भाइ मदनकोमा गएर राजेन्द्रले बिहानै रिचार्ज कार्ड लिएर आउनुभएकाे थियाे ।

घरमै रहेका बेला राजेन्द्रको घरमा नचिनेका हतियारधारी समूह आएर घेरा हाले । ब्याउन लागेको गाईको स्याहार गरिरहनुभएका राजेन्द्रलाई उनीहरूले घरभन्दा पश्चिमतर्फ रहेको जङ्गलमा लिएर गएको गाउँलेले देखेका थिए । त्यसपछि गाउँमा हल्ला भयो, ‘राजेन्द्रलाई ६ जनाले जङ्गलतर्फ लिएर गए, उनीहरूको हातमा पेस्तोल पनि थियाे ।’

बाख्रा बाँध्न बारीमा जानुभएका मदन हतपत गाउँका सात जनालाई भेला पारेर राजेन्द्रको खोजीमा निस्किनुभयाे । ‘म बारीमा बाख्रा बाँध्न गएको थिएँ', उहाँले भन्नुभयो, 'दाइलाई जङ्गलतर्फ लगे रे भनेको सुनेपछि हामी गाउँका सात भाइ दाइलाई खोज्न जङ्गलतर्फ गएका थियौँ ।’

सात जनाकाे टोलीमा चार जना तल्लो बाटो देवढुङ्गाको गाई/बाख्रा चराउने ठाउँ हुँदै गए भने तीन जना माथिल्लो बाटो हुँदै गए । 'हामी तल्लो बाटो हुँदै गएका चार जनाले जङ्गलमा लडिरहेको अवस्थामा काकाको शव भेट्यौँ', मदनले भन्नुभयो । खोज्दै गएको अवस्थामा बाटोदेखि माथितिर लडेको अवस्था भेटिएको शव गोली हानेर वा घाँटी रेटेर हत्या गरेको हो भन्नेमा उनीहरूले यकिन गर्न सकेनन् ।

उनीहरु नजिकै पुगे पनि शवलाई छोएनन् । हत्या भएको अवस्थामा शव देखिएपछि सात जना नै फर्किएका थिए । राजेन्द्रलाई जङ्गलतर्फ लग्दै गरेको अवस्थामा उहाँकी श्रीमती बाख्राको फर्ममा जानुभएकाे थियाे । घरमा श्रीमान् र श्रीमती मात्र थिए ।  

गाउँका अभिभावक

लामो समय शिक्षण पेसामा रहेर समाजसेवामा समेत लाग्नुभएका राजेन्द्रलाई गाउँलेले अभिभावक मान्थे । राजेन्द्र स्कुल जाने/आउने गर्नुहुन्थ्याे । गाउँमा बाटो थिएन, उहाँकै कारणले बाटो पुग्यो, गाउँका सामान्य समस्या समाधान गर्नुहुन्थ्याे । 

उहाँको हत्यापछि अहिले गाउँ नै अन्याेलमा छ । स्पष्ट वक्ताको रूपमा चिनिनुभएका राजेन्द्र जे देख्यो त्यही बोल्नु हुन्थ्याे । उहाँलाई सबैले राम्रो मान्ने गरेका थिए । 

घटनाको बारेमा पालिका र प्रहरी

हत्या भएको सात घण्टामा पनि घटनास्थलमा प्रहरी पुग्न सकेको छैन । हत्याको अवस्थाको बारेमा प्रहरी प्रशासन अन्याेलमा नै थियो । बिहान सात बजे हत्या भएको भनिएको भए पनि दुई बजेसम्म पनि प्रहरी घटनास्थलमा पुग्न नसक्नुलाई घटनास्थल अत्यन्त दुर्गम भएको प्रहरीले भनेको छ । हत्या भएको भन्ने जानकारी आएपछि प्रहरी परिचालन गरिएको छ तर दुर्गम भएको कारण समय लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताउनुभयो ।

घटनास्थल मोरङको अत्यन्त दुर्गम बस्ती भएकोले त्यहाँ पुग्न रमिते खोलाबाट हिँडेर तीनदेखि चार घण्टा लाग्ने ठाउँ हो । रमिते खोलासम्म सडककाे बाटो हो ।   

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया