गोरखामा बस दुर्घटना, ५ जना गम्भीर घाइते

 पुस १, २०७७ बुधबार ९:२६:१६ | किरण लोहनी
unn.prixa.net

गाेरखा – गोरखामा बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । काठमाण्डाैबाट आरुघाट गाउँपालिकाको सोतीतर्फ जाँदै गरेको ग १ ख ९४४६ नम्बरको बस भिमसेन थापा गाउँपालिकाको तान्द्राङमा दुर्घटना भएको हो ।

तान्द्राङको मुरलीचोक भन्ने ठाउँ नजिकैबाट बस करिब १ सय फीट तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिनुभयो । दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा भिमसेनथापा गाउँपालिका–३ का २९ वर्षका उत्तम पुडासैनी, ३० वर्षका मनोज पुडासैनी, २९ वर्षका उज्ज्वल पुडासैनी, धार्चे गाउँपालिका–६ का ५० वर्षका सुरमान घले र केरौंजाकी ३२ वर्षकी कान्छी गुरुङ रहेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सुरमान र कान्छीको गोरखा अस्पतालमा उपचार भैरहेको छ भने अन्य ३ जनालाई काठमाण्डौ लगिएको प्रहरीले जानकारी दिएको छ । बसमा ३० जना यात्रु रहेका थिए । चालक निदाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट जानकारी आएको प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिनुभयो । चालक सम्पर्कमा आएका छैनन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया