खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - मेलम्ची खानेपानी आयोजना दोस्रो चरणको निर्माणका लागि आवश्यक पर्ने संरचना निर्माण अघि बढेको छ । आयोजना निर्माणस्थलसम्म सडक निर्माण सुरु भइसकेको छ भने चालु आर्थिक वर्षमा नै पानी प्रशोधन केन्द्र निर्माण अघि बढाइने भएको छ ।
आयोजनाका लागि मुख्य संरचना बनाउन सडक निर्माण गर्न आवश्यक रहेको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार मेलम्चीको पुलबजारदेखि निर्माणस्थलसम्म २५ किमी सडक निर्माण अघि बढाइएको छ ।
मेलम्ची पुल बजारदेखि पारिबाट १५ किमी डिभिजन सडक कार्यालय दोलखाबाट निर्माण अघि बढाइएको छ भने त्यसका लागि आवश्यक बजेट मेलम्ची खानेपानी विकास समितिबाट उपलब्ध गराइएको छ । त्यस्तै, १० किमी सडक निर्माणको ठेक्का समिति आफैँले गरेको छ । उहाँले भन्नुभयो, 'दुवैतर्फ निर्माण व्यवसायी परिचालन गरिसकिएको छ ।'
त्यस सडकमा तीन पुल निर्माण गर्नुपर्नेमा जगको काम भइरहेको प्रवक्ता पन्तले बताउनुभयो । सुरुमा पुल बजारदेखि रातोमाटेसम्म पाँच किमी र रातेमाटेबाट धापसम्म १० किमी सडक निर्माण डिभिजनले अघि बढाइरहेको छ ।
धापदेखि ठूलो भोटाङसम्मको सडक निर्माण समितिले गरिरहेको हो । याङ्ग्री नदीको ‘हेडबक्स’ बनाउने ठाउँमा नै याङ्ग्री र इन्द्रावती नदीको दोभान रहेको छ । त्यस ठाउँसम्म सडक निर्माण भइरहेको छ । उहाँले भन्नुभयो, 'सडक बनेपछि त्यहाँका तीन पालिकालाई आवतजावत सजिलो हुनेछ ।'
पच्चीस किमी सडक निर्माण चालु आवभित्रै सकाउने लक्ष्य राखे पनि मुआब्जालगायतको विवादका कारण समस्या आइरहेको प्रवक्ता पन्तले बताउनुभयो । निर्माण व्यवसायी निर्माणस्थलमा परिचालन भए पनि मुआब्जा र क्षतिपूर्ति विवादका कारण काम गर्न नसकेको उहाँले जानकारी दिनुभयो ।
त्यस सडक निर्माणका लागि मुआब्जाबापत स्थानीयवासीलाई १५ करोड रुपैयाँ वितरण गर्नुपर्ने छ । त्योमध्ये छ करोड ५० लाख मात्रै वितरण भएको छ । उहाँले भन्नुभयो, 'आधाभन्दा धेरैले अहिले पनि मुआब्जा लिन आउनुभएको छैन, यसले निर्माणमा समेत असर गरेको छ ।'
मेलम्चीको दोस्रो चरणको निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न पहिले वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) गर्नुपर्ने आयोजनाले जनाएको छ । त्यसका लागि सम्बन्धित गाउँपालिकाको सहमति आवश्यक पर्छ ।
मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिका गरी तीन तहले त्यसमा सहमति दिइनसकेको प्रवक्ता पन्तले बताउनुभयो । तीनै पालिकाले आयोजना सुरु गर्दा विभिन्न माग गरिरहेका छन् ।
सडकलगायतका संरचना निर्माणका लागि स्थानीयवासीले गरेको माग उनीहरुसँगकै समन्वयमा अघि बढाइने उहाँले बताउनुभयो । प्रतिवेदन तयार भइसकेकाले सम्बन्धित पालिकाले सहमति दिएपछि नै वातावरण मन्त्रालयलाई सहमतिपत्र बुझाइनेछ । उहाँले भन्नुभयो, 'ती कुरालाई सम्बोधन गर्नका लागि नै पूर्वाधार निर्माणका लागिसमेत बजेट छुट्टाइएको छ ।'
मेलम्ची खानेपानी आयोजनाले यसअघि सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेकामा चालु आवमा नै थप एक केन्द्र निर्माण अघि बढाउने भएको छ । अहिले रहेका दुई केन्द्रले मेलम्ची खोलाबाट आउने दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने आयोजनाले जनाएको छ ।
दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट आउने थप १७/१७ करोड लिटर पानी प्रशोधनका लागि अर्को संरचना आवश्यक पर्ने आयोजनाका प्रवक्ता पन्तले बताउनुभयो । एशियाली विकास बैंकको आग्रहमा दोस्रो चरणका लागि केन्द्र बनाउन तयारी थालिएको र त्यसका लागि डिजाइन भइसकेको उहाँले जानकारी दिनुभयो ।
एडीबीले त्यस पुनरावलोकन गर्ने काम अघि बढाइरहेको छ । सरकारले चालु आवमा ३५ करोड रुपैयाँ छुट्याएकाले यस वर्ष ठेक्कामा जान सकिने उहाँको भनाइ छ । यो आवमा ठेक्कामा जान सकेमा अर्को वर्ष निर्माणको काम हुनेछ ।
सरकारले पहिलो चरणमा मेलम्ची खोलाको पानी काठमाण्डौ उपत्यकामा झार्ने तयारी गरिरहँदा दोस्रो चरणको आयोजना निर्माणका लागिसमेत तयारी अघि बढाइएको छ । मेलम्चीको पानी परीक्षणका लागि गएकाे असारमा सुरुङमा पानी पठाइए पनि दुर्घटनाका कारण सुरुङको पुनः मर्मत गरेर मात्रै परीक्षण गरिने भएको छ ।
आयोजनाअन्तर्गत नै ‘हेडबक्स’ निर्माण भइरहेकामा त्यो समेत समयमा सम्पन्न गर्न नसकिने भएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण काममा बाधा पुगेकाले पुसमा सकिनुपर्ने भए पनि ‘हेडबक्स’ चैतसम्ममा सम्पन्न हुने देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।