खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
पर्वत - पर्वतको जलजला गाउँपालिकामा १५ हजार रोपनीभन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण भएको छ ।
गाउँपालिकाले एक वर्षसम्म गरेको अध्ययनका क्रममा १५ हजार २८२ रोपनी सार्वजनिक जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरेको पाइएको हो । सार्वजनिक जग्गाको अतिक्रमण बढ्दै गएपछि गाउँपालिकाले आफ्नो सीमाभित्रका सार्वजनिक जग्गा संरक्षणको तयारी थालेको छ ।
वडा नम्बर २, ३, ४, ७ र ८ मा स्थानीय बासिन्दाले सार्वजनिक जग्गा आफूखुशी भोगलचन गर्दै आएका हुन् । सार्वजनिक जग्गा खोजी अभियानका क्रममा मालढुङ्गा–बेनी सडक छेउ तथा कालीगण्डकी किनारमा मात्रै ठूलो परिमाणमा अतिक्रमण गरिएको पाइएको गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिनुभयो ।
'कतिपय जग्गामा आरसीसी भवनसमेत बनाइएको छ', उहाँले भन्नुभयो,'कसरी हुन्छ त्यसलाई फिर्ता ल्याउने अभियानमा गाउँपालिका जुटेको छ ।' धेरैजसो जग्गा राजमार्गसँग जोडिएको, कालीगण्डकी नदी किनारमा रहेको र त्यहाँ व्यक्तिले कब्जा गरेको पाइएको उहाँले बताउनुभयो ।
कालीगण्डकी करिडोरअन्तर्गतको मालढुङ्गा–बेनी सडकछेउ, मिलनचोक, बारीबेनीलगायत ठाउँका जग्गामा व्यक्तिले भवन बनाएका छन् । यस्ता जग्गा केन्द्र सरकारसँगको समन्वयमा फिर्ता ल्याएर भाडामा लगाउने, सार्वजनिक आम्दानी लिने गरी उपयोग गर्ने र विपन्नलाई आयआर्जनका लागि उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।
पालिकाका सूचना अधिकारी लीलाधर सुवेदीका अनुसार पहिलो चरणमा भेटिएको जग्गा व्यवस्थापनपछि दोस्रो चरणमा अरू वडाको जग्गा पनि खोजी गरिने भएको । 'यो क्षेत्रको बढी मूल्यवान भएकाले पहिलो चरणमा खोजेका हौँ', उहाँले भन्नुभयो,'यसको व्यवस्थापनपछि अरू वडातिर लाग्छौँ ।'
धेरैजसो सार्वजनिक जग्गा बेवारिस भएकाले त्यसको खोजी गरी छिट्टै व्यवस्थापन गर्न गाउँपालिकाले दीर्घकालीन योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । गाउँपालिकाले आन्तरिक आम्दानी बढाउन सार्वजनिक जग्गामा नगदे बाली लगाउने, उद्योगधन्दा खोल्नेलगायत काममा समेत उपयोग गर्ने योजना बनाएको छ ।
त्यसका लागि कर्मचारी व्यवस्थापन गरिसकेको उहाँले बताउनुभयो । गाउँपालिकाले आफ्नै भू–सेवा कार्यालयसमेत सञ्चालनमा ल्याएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।