मन्त्रिपरिषद् विस्तार : कोही नयाँ कोही पुराना

 पुष ११, २०७७ शनिबार ६:४५:४८ | रासस
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार विस्तार गर्नुभएको मन्त्रिपरिषद्मा अधिकांश नयाँ अनुहार समेटिनुभएको छ । केही मन्त्री भने यसअघि पनि राज्यको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसक्नुभएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउनुभएका टोपबहादुर रायमाझीले यसअघि पनि उपप्रधानमन्त्रीसहित त्यही मन्त्रालय सम्हाल्नुभएको थियो । संविधान निर्माण लगत्तै विसं २०७२ मा वर्तमान प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा रायमाझीले मन्त्रालय सम्हाल्दा ऊर्जा, सङ्कटकालीन कार्ययोजना ल्याएर नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा नयाँ आयामको सुरुआत गर्नुभएको थियो ।

कुल ९९ बुँदे यस कार्ययोजनाको आधारमा नै विद्युत् भार कटौतीलगायतका योजना अगाडि बढेका थिए । विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा अर्घाखाँचीबाट ५० हजार ८३७ मतसहित निर्वाचित हुनुभएका रायमाझी दोस्रो पटक ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्न लाग्नुभएको हो । 

सहरी विकास मन्त्रालयमा प्रभु साहको पनि दोस्रो कार्यकाल हो । तीन पटक सांसद र संसदीय समितिको सभापति  रहिसक्नुभएका साहले यसअघि नै कानुन न्याय तथा संसदीय मामिला, भूमिसुधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

खानेपानी मन्त्रीको जिम्मेवारी सम्हाल्न लाग्नुभएका मणिचन्द्र थापा पहिलो पटक राजकीय जिम्मेवारीमा आउनुभएको हो । तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा गीत सङ्गीतमार्फत योगदान गर्नुभएका नेता थापा नेकपाभित्र बौद्धिक नेताका रुपमा चिनिनुहुन्छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरी पनि दोस्रो पटक मन्त्री बन्नुभएको छ । यसअघि पनि उहाँले कृषि विकास मन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना नेकपाका नेता तथा विघटित प्रतिनिधिसभाको सांसद हुनुहुन्थ्यो । दार्चुलाबाट राष्ट्रिय राजनीतिमा स्थापित हुनुभएका ठगुन्नालाई कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतको क्षेत्रको राम्रो ज्ञान रहेको छ । 

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले पनि नेकपाका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद हुनुहुन्छ । डोटी जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने आलेलाई नेकपाभित्र निडर नेताका रुपमा लिइन्छ । विसं २०७४ को निर्वाचनमा नवनियुक्त मन्त्री आलेले ३२ हजार ५१० मत प्राप्त गरी विजयी हुनु भएको थियो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो पनि पहिलो पटक राजकीय जिम्मेवारी सम्हाल्न लाग्नुभएको हो ।

त्यस्तै युवा तथा खेलकूद मन्त्रीको जिम्मेवारी सम्हाल्न लाग्नुभएका दावा लामा पनि पहिलो पटक मन्त्रिपरिषद्मा समेटिनुभएको छ । विसं २०६४ को संविधानसभा सदस्य रहनुभएका लामा २०७४ मा भएको प्रदेशसभा सदस्यको निर्वाचनमा भने पराजित हुनुभएको थियो । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया