प्रदेश १ का मुख्यमन्त्री अल्पमतमा, अविश्वासको प्रस्ताव दर्तासँगै जोड–घटाउ सुरु

 पुस १२, २०७७ आइतबार १३:३७:४६ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासकाे प्रस्ताव पेस भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका सांसदहरूले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका हुन् ।

३७ जना सांसदले हस्ताक्षर गरेर बुझाइएको अविश्वासकाे प्रस्तावकका रूपमा शनिबारमात्र बर्खास्तीमा पर्नुभएका मन्त्री ईन्द्र आङ्बो रहनुभएको छ । त्यही प्रस्तावमा अन्य सदस्यले समर्थन गरेका हुन् ।  

तत्कालीन एमालेको ५१ जना प्रदेश सभा सदस्यमध्ये २६ मत ल्याएर संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्नुभएका राईको ठाउँमा अविश्वासको प्रस्तावसँगै उहाँले नै हराउनुभएको भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको ईन्द्र आङ्बोले बताउनुभयो ।

तत्कालीन एमाले र माओवादी एकीकरण भए पनि प्रदेश १ मा नेकपाको ६७ मत रहेको छ । जसमा सभामुख र उपसभामुखबाहेक ६५ मत हो ।  

३७ जनाले अविश्वास प्रस्ताव दर्ता गरेसँगै मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपा संसदीय दलमा पनि अविश्वासको प्रस्ताव दर्ता भएको नेकपा संसदीय दलका उपनेता टङ्क आङ्बुहाङले जानकारी दिनुभयो । अविश्वासको प्रस्तावसँगै नेकपालाई सरकार बनाउन ४७ प्रदेश सभा सदस्य आवश्यक पर्नेमा ४७ जनाले नै अविश्वासको प्रस्ताव दर्ता गराएका नेता लक्ष्मण तिवारीले बताउनुभयाे । 

अब बस्ने संसदीय दलको बैठकबाट मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट पनि हटाउने तयारी छ । ‘अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा संसदीय दलको नेतामा उहाँ अल्पमतमा पर्नुभएको छ’, तिवारीले भन्नुभयो । यता शेरधन राई पक्षीय नेताहरुले भने २७ जना आफ्नो समूहमा रहेकाले तत्काल सरकार बन्न अन्य दलको सहारा लिनुपर्ने तर्क गर्दै आएका छन् ।

प्रदेश १ मा ९३ जना सदस्य रहेको प्रदेश १ मा १६ जना तात्कालीन माओवादी, ५१ जना तत्कालीन एमालेको सांसद रहेका छन्  । कांग्रेसको २१, जनता समाजवादी पार्टीको तीन, राप्रपा र सङ्घीय लिम्बुवान राष्ट्रिय मञ्चको एक–एक जना सदस्य रहेका छन् ।

मुख्यमन्त्री शेरधन राईलाई अविश्वासको प्रस्ताव दर्ता गराउनुपूर्व तीन जना मन्त्रीले राजीनामा दिएसँगै सामाजिक विकास मन्त्रालय र अर्थ मन्त्रालय खाली भएको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका राज्यमन्त्रीले पनि राजीनामा दिएका छन्, आर्थिक मामिला तथा योजनामन्त्री बर्खास्तीमा पर्नुभयाे ।  

शनिबार आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई मन्त्री पदबाट बर्खास्त गरेका मुख्यमन्त्री शेरधन राईलाई बिहानै तीन जना मन्त्रीले राजीनामा दिएका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेसहित सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेर र उद्योग, वन तथा पर्यटन राज्यमन्त्री विजयकुमार विश्वासले सामूहिक राजीनामा दिएका थिए । 

अन्तिम अपडेट: चैत २८, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया