कोरोना वा अरु कारणले उपचारका लागि अस्पताल जाँदा सावधानी अपनाऔँ

 पुस १५, २०७७ बुधबार ११:३३:२६ | डा. शेरबहादुर पुन
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरस पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन । सङ्क्रमितको संख्या भने कम हुँदै गएको छ । सङ्क्रमितको सङ्ख्या कम हुन थालेकाले अरु रोगका बिरामीहरु अस्पताल जान थालेका छन् ।

उपचारको लागि डाक्टरसम्म पुग्न टिकट लिनुपर्ने हुन्छ । टिकट लिनका लागि अस्पतालहरुमा बिरामी र उनीहरुको आफन्तको लामो लाइन लाग्ने गर्छ । यस्तो अवस्थामा निकै सावधानी अपनाउनुपर्छ । 

लाइनमा बसेकामध्ये कसलाई सङ्क्रमण भएको छ कसलाई छैन भन्ने कुरा थाहा हुँदैन । लाइनमा उभिएकामध्ये एक जनालाई मात्रै कोरोना भाइरसको सङ्क्रमण भएको छ भने पनि अरुलाई सर्न सक्छ । 

अस्पताल गएपछि मात्रै कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको यस अगाडिका प्रशस्तै उदाहरणहरु छन् । सर्जरी गर्न, बच्चा जन्माउनलगायत विभिन्न कारणले अस्पताल गएकाहरुमा अस्पताल गएपछि मात्रै कोरोना भाइरसको सङ्क्रमण थाहा पाइएको थियो ।

कोरोनाको वा अन्य कारणले उपचारका लागि अस्पताल जाँदा निकै सावधानी अपनाउनुपर्छ । कोरोना सङ्क्रमण फैलन नदिनका लागि अर्को महत्त्वपूर्ण भूमिका अस्पताल व्यवस्थापन समितिको हुन्छ । बिरामी र बिरामीका आफन्तलाई दूरी कायम गरेर लाइनमा उभिन लगाउने, मास्क लगाए, नलगाएको अनुगमन गर्ने, कोरोना भएका र नभएकालाई छुट्याएर उपचार गर्ने भूमिका अस्पताल व्यवस्थापन समितिको हुन्छ ।   

हुन त सरकारले निजी अस्पतालमा अबदेखि कोरोनाको उपचार नगर्ने भनेर भनिसकेको छ । तै पनि  पूर्णरुपमा जोखिम कम नभइसकेको अवस्थामा सावधानी अपनाउनुपर्छ । सतर्कताका कुरा गर्नेबित्तिकै मास्क लगाउने र दूरी कायम गर्ने कुराहरु आउँछ । अस्पताल पुगेर फर्केको अवस्था  छ भने घरमा आएपछि साबुनपानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्नेलगायतका  सावधानी अपनाउनुपर्छ । 

कोरोना भाइरस जोखिमका कारण लामो समयसम्म विभिन्न किसिमका समस्या भएका दीर्घरोगीहरु अस्पताल जान पाएनन् । कोरोना जोखिम कम भएसँगै लामो समयसम्म अस्पताल जान नपाएका बिरामीहरु अस्पताल एकैपटक जाँदा भीडभाड हुन सक्छ । 

कोराेनाको जोखिम अझै छ भनेर बुझ्नुपर्छ ।  कोरोना सकियो भनेर बेवास्ता गर्नु हुँदैन । हामीले पहिलादेखि नै जे जस्ता  सावधानी अपनाउनुपर्छ भनेका छौँ, त्यही सावधानी अपनाउने हो ।  डाक्टर तथा स्वास्थ्यकर्मी, बिरामी र बिरामीका आफन्त सबैले यो नियम पालना गर्नुपर्छ । अस्पताललाई कोरोना सार्ने स्रोत बनाउनु हुँदैन । त्यसको लागि सबैभन्दा ठूलो कुरा अस्पतालको व्यवस्थापन हो ।  

कोरोना सुरु हुनुभन्दा अगाडिको सामान्य अवस्थामा जस्तै नै अब पनि बिरामीले सेवा पाउँछन् । तर अहिले पनि उपचार गर्ने र गराउने दुवैमा कोरोनाको डर कायम नै छ । नेपालमा कोरोना नियन्त्रण भएर विश्वका कुनै पनि कुनामा कोरोना रहँदासम्म यो डर रही रहन सक्छ । किनभने विश्वको कुनै पनि कुनाबाट कोरोना भाइरस नेपाल आउने सम्भावना भइरहन्छ। 

कोभिड-१९ पनि चीनबाट सिधै  नआइकन, युरोप, अमेरिका तथा भारत हुँदै नेपाल छिर्यो । त्यसकारण उपचार गर्ने र गराउनेमा एक खालको शंका त हुन्छ नै । विश्वमा कोरोना भाइरसको उतारचढाव छउञ्जेल यो शंका रहिरहन्छ ।  

चीनमा  देखिँदा पनि नेपालमा मानिस सशंकित भएका थिए । तर डराएका तथा शंका गरेर मात्र हुँदैन ।  होसियारीपूर्वक उपचार  गर्नुपर्छ । 

(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विषशज्ञ डा. शेरबहादुर पुनसँग जानुका दुवाडीले गरेको कुराकानीमा आधारित ) 


  

अन्तिम अपडेट: चैत ११, २०८०

डा. शेरबहादुर पुन

डाक्टर पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकाे क्लिनिकल रिसर्च युनिटका संयाेजक हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया