१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्छौँ : मन्त्री रावल

 पुस १६, २०७७ बिहिबार ८:१९:४ | रासस
unn.prixa.net

काठमाण्डौ - कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्ने बताउनुभएको छ ।

सामाजिक विकास मन्त्रालयद्वारा बुधबार आयोजित कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त पदाधिकारी तथा सदस्यको ‘पद तथा गोपनीयताको शपथ ग्रहण’ कार्यक्रममा मन्त्री रावलले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको लागि अब संरचना निर्माणमा प्रदेश सरकार लाग्ने बताउनुभयो । 

'प्रदेश सरकार खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि पूर्वाधार विकासमा लाग्छ', मन्त्री रावलले भन्नुभयो, 'हाम्रा सामु निकै महत्त्वपूर्ण भूमिका र चुनौती दुवै छन् ।' खेल क्षेत्रमा कार्यरत व्यावसायीक जनशक्ति राम्रो र प्रभावशाली टोली भएकाले यसले खेल क्षेत्रमा केही गर्छ भन्ने पूर्ण अपेक्षा गरेको उहाँले जिकिर गर्नुभयो
    
उहाँले भन्नुभयो, 'बुधबारदेखि पूर्णता प्राप्त गरेको परिषद्ले खेलकुद संरचना निर्माण गर्दै जाने र कुन जिल्लामा कुन खेल खेलाउन सकिन्छ भन्ने कुराको नक्साङ्कन गर्नुपर्दछ ।' लामो प्रयास र छलफलपछि खेल क्षेत्रमा कार्यरत व्यावसायीक जनशक्ति समावेश गरी प्रदेश परिषद् गठन गरेर प्रदेश सरकारले परिषद्को पदाधिकारी तथा सदस्य नियुक्त गरिसकेकाले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता भव्यरूपमा सम्पन्न हुने आशा गरिएको उहाँको भनाइ थियो ।

उहाँले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा १० हजार मान्छे अट्ने प्रदेशस्तरको रङ्गशाला निर्माण गर्ने लक्ष्य लिएको भन्दै प्रतियोगिता सञ्चालन र संरचना निर्माणका विषयमा राष्ट्रिय खेलकुद परिषद्सँग पनि छलफल भएको जनाउनुभयो । 

मन्त्री रावलले नवनियुक्त पदाधिकारी तथा सदस्यको कार्यकाल पूर्ण सफलताको शुभकामना प्रदान गर्नुभएको थियो । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया