विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारबाही

 पुष १६, २०७७ बिहीबार १२:४५:१५ | रासस
unn.prixa.net

सिरहा - नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारबाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री पनि ठूलो सङ्ख्यामा जफत गरेको छ ।

प्राधिकरणका कर्मचारी तथा प्रहरीको सहयोगमा गाउँगाउँमा पुगेर टीभी, फ्रिज, पङ्खा, पानी तान्ने मोटर, तार, कटरलगायतका १४० थान विद्युतीय उपकरणसमेत नियन्त्रणमा लिएको विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ  ।

कोरोनाको महामारीमा नेपाल सरकारले गरेको लकडाउनदेखि अहिलेसम्मको अवधिमा विद्युत् चोरीमा संलग्न ४२ जनालाई पक्राउ गरी कारबाही गरिएको वितरण केन्द्रका प्रमुख आमोद यादवले जानकारी दिनुभयो ।

उनीहरुबाट तीन लाख दुई हजार ५४९ रुपैयाँ राजस्व असुलीसमेत गरिएको छ । प्राधिकरणका इञ्जिनीयर विमलप्रसाद साहकाअनुसार विद्युत् चोरीमा संलग्नलाई न्यूनतम तीन हजारदेखि विद्युत् खपत गरेको युनिटको आधारमा थप जरिवाना गरिएको बताउनुभयो । 
    
यस अवधिमा ५० लाखभन्दा बढी बक्यौता पनि उठाइएको छ । यता समयमै महसुल नबुझाउने १४० ग्राहकको लाइन यस अवधिमा काटिएकामा १२७ जनाबाट ५७ लाख २४ हजार ८५३ रुपैयाँ असुली भइसकेको र अन्य बाँकीबाट पनि प्राप्त हुने क्रम जारी रहेको इञ्जिनीयर साहको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजअन्तर्गत कुल ५१ हजार ९८७ ग्राहक छन् । विद्युत् चोरीमा संलग्नलाई धमाधम कारबाही गर्न थालिएपछि विगतको तुलनामा विद्युत् हुकिङ गरेर चोरी गर्नेको सङ्ख्या अहिले घट्दै गएको तर पूर्ण नियन्त्रणमा भने हुन नसकेको केन्द्रका प्रमुख यादवको भनाइ छ ।  

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया