अघि बढ्यो कोशी करिडोरको निर्माण

 पुस १८, २०७७ शनिबार १२:५०:१८ | रासस
unn.prixa.net

काठमाण्डौ - उत्तर–दक्षिण करिडोरअन्तर्गतको कोशी करिडोरमा बाँकी ठाउँमा ट्र्याक खोल्ने कामसँगै सडक स्तरोन्नतिसमेत अघि बढेको छ । 

कठिन भौगोलिक अवस्था र अरु विभिन्न चुनौती भए पनि करिडोर निर्माण अघि बढिरहेको छ ।  यस करिडोर अन्तर्गतको १४ किमी सडकको ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ । 

गएकाे वर्ष फागुनमा सरकारले सेनालाई जिम्मेवारी दिइएको थियो । अहिले राजमार्गको १० किमी सडक स्तरोन्नति भइरहेको छ भने ३९ किमी सडक कालोपत्र गर्न लागिएको कोशी करिडोर खाँदबारी–किमाथाङ्का सडक योजनाले जनाएको छ । 

अर्थ मन्त्रालयले कालोपत्रका लागि दुई अर्ब ६० करोड स्वीकृत गरिसकेकाले ठेक्कामा जान लागिएको योजना प्रमुख गौतमकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'आउँदाे हप्ता सूचना निकाल्नका लागि आयोजना निर्देशनालयले स्वीकृति दिइसकेको छ ।'
 
सङ्खुवासभाको भोटखोला गाउँपालिकाको धोङगपाबाट च्याम्ताङसम्मको सडक ट्राक खुल्न बाँकी हो । खाँदबारीबाट उत्तरतर्फ च्यामताङसम्म १३४ किमी निर्माण भएको छ । नेपाल चीनको सिमाना किमाथाङ्काबाट धोङगपासम्म १४ किमी ट्याक उत्तरबाट दक्षिण खुलेको छ । बीचको खण्ड बाँकी मात्रै बाँकी भएको योजनाले जनाएको छ । 

जम्मा १६२ किमी लम्बाइको सडकमा १४८ ट्याक खुलिसकेको छ । बाँकी १४ किमी सेनालाई दिइएको र अरु खण्डमा काम भइरहेको योजना प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार नेपाली सेना साइटमा जाने तयारी गर्दैछ । निर्माणाधीन यस राजमार्गमा विभिन्न ठाउँमा कठिन भूगोल भएकाले एलाइमेन्ट लैजान गाह्रो भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, 'चट्टान नै चट्टान भएको ठाउँबाट सडक खोल्न गाह्रो भए पनि काम भइरहेको छ ।'

राजमार्ग निर्माणका क्रम भौगोलिक कठिनाइसँगै गएकाे वर्ष कोभिडका कारण काममा बाधा पुगेको प्रमुख श्रेष्ठले बताउनुभयो । निर्माण सामग्री नपाइने र पाउँदा पनि गुणस्तरीय नपाउने समस्या रहेको छ । राजमार्गको उत्तरतर्फ कतिपय ठाउँमा १२ महिनामा जम्मा चार महिना मात्रै काम गर्न सकिनेछ । 

हिमाली क्षेत्रमा चैत वैशाखदेखि पानी पर्ने र भदौ असोजदेखि चाडपर्व र त्यसपछि चिसोका कारण काम गर्न कठिन रहेको प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, 'मौसम र अरु कुरा सहज भएमा माघदेखि वैशाखसम्म मात्रै काम गर्न सकिन्छ ।'

सरकारले अहिलेसम्म उत्तर दक्षिण करिडोरअन्तर्गतका राजमार्ग सम्पन्न गर्ने भनी लक्ष्य निर्धारण गरिसकेको छैन । उत्तर दक्षिण आयोजना निदेशनालयले ट्याक खोलिसक्ने कामलाई नै प्राथमिकता दिएको छ । सेनाले नियमित काम गर्दा अबको झण्डै डेढदेखि दुई वर्षमा काम गर्नसक्ने बताउँदै आएको छ । चट्टान बढी भएकाले काम गर्न बढी समय लाग्ने उहाँको भनाइ छ । 

राजमार्गको मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट अघि बढ्ने हुनाले वातावरणमा ध्यान पुर्याएर मात्रै काम गर्नुपर्ने प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार ११२ किमी सडक मध्यवर्ती क्षेत्रमा पर्ने हुँदा त्यसमा काम सुरु गर्न गाह्रो थियो । गएकाे वर्षसम्म पनि वातावरण प्रभाव मूल्याङ्कन (इआइए) नभएकाले काम गर्ने वातावरण बनेको थिएन ।

सडक निर्माण अघि बढाउन खोज्दा निकुञ्जबाट अवरोध आएको थियो । उहाँले भन्नुभयो, 'गएकाे फागुनमा स्वीकृत भएपछि यस क्षेत्रमा काम भइरहको छ ।' करिडोरमा सडकको अधिकार क्षेत्रको ठूलो समस्या नभएको बताइएको छ ।

अरुण तेस्रो परियोजनाले सङ्खुवासभा जिल्लोको फाक्सीन्दादेखि अरुण तेस्रो परियोजनासम्म ३० मिटरमा मुआब्जा दिइसकेको छ । उहाँले भन्नुभयो, 'त्यसबाहेक अरु ठाउँमा मुआब्जा नदिइएको भए पनि स्थानीयवासीको असन्तुष्टि छैन ।'

राजमार्ग निर्माणाधीन भए पनि ट्याक खुलेको स्थानमा गाडी चल्न थालेको योजनाले जनाएको छ । खाँदबारीबाट ८० किमी परसम्म सवारीसाधन चल्छ भने त्यसअघि ट्र्याक्टरले सामान मात्रै बोक्ने भोटखोला गाउँपालिाका प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले बताउनुभयो । यो गाउँपालिकाको केन्द्रसम्म सडक पुगेको छैन । उहाँले भन्नुभयो, 'ट्र्याक पूरै खुली सकेर गाडी चले त सबैलाई सजिलो हुने थियो ।'

देशभरका अन्य सडकजस्तै यो सडक निर्माण गर्दा कोभिडको अझै पनि असर गरेको थियो । गत वर्ष कोभिडकै कारण स्थानीयवासी पालिकाले नयाँ मान्छे छिर्न नदिएकामा अहिले हट्दै गएको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो । 

राजमार्गमा २२ पुल आवश्यक भएकामा अहिलेसम्म एउटा पुल सम्पन्न भएर सञ्चालनमा आएको र धेरै निर्माणाधीन रहेको योजनाले जनाएको छ । पुलमा काम गर्दा समस्या आउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, 'पुलमा काम गर्न भारतीय ल्याउँदा स्थानीयवासी डराएको छ ।'

ट्र्याक खुल्न बाँकी स्थानमा खुलाउनेसँगै खुलिसकेकामा सडक स्तरोन्नतिको कामसमेत अघि बढाइएको छ । कतिपय खण्डमा कालोपत्र प्रक्रिया अघि बढाएको छ भने कतिपय खण्डमा सडक फराकिलो बनाउने काम भइरहेको श्रेष्ठले जानकारी दिनुभयो । 

विभिन्न ठाउँमा चट्टानको क्षेत्रसँगै पहिरो जोखिम रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, 'भएका सबै अवरोध हटाएर पनि सडक निर्माण र स्तरोन्नति भइरहेको हो ।' दक्षिणमा मोरङको जोगवनीदेखि उत्तरमा सङ्खुवासभाको किमाथाङ्कासम्म रहेको छ । यसले उत्तरमा चीनको सीमादेखि दक्षिणमा भारतीय सीमालाई जोड्छ । मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा र तेह्रथुमको क्षेत्र भाग भएर राजमार्ग निर्माण भइरहेको छ। 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया