बैतडीका चार स्थानीय तह पहिरोको उच्च जोखिममा

 साउन ३१, २०७५ बिहिबार ११:३९:४९ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – जिल्लाका ४ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी योजना अनुसार डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौंडी नगरपालिका र मेलौली नगरपालिका पहिरोको उच्च जोखिममा रहेका छन् ।

मुख्य गरेर चारओटा स्थानीय तहमा पहिरोका जोखिम अन्य ठाउँको तुलनामा बढी रहेको विपद् व्यवस्थापन योजना निर्माणमा संलग्न पहल कार्यक्रमका संयोजक लालबहादुर महराले बताउनुभयो । जिल्लामा विभिन्न किसिमका प्रकोपहरुको जोखिम रहेको र ती प्रकोपबाट हुने क्षति न्यूनीकरणका बिषयमा आफूले छलफल चलाइरहेको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउनुभयो । आफू जिल्लामा आएको थोरै समय भएकाले जिल्ला विपद् व्यवस्थापन समितिको बैठक नबोलाएको भए पनि राहत वितरणको काम भने भैरहेको उहाँले बताउनुभयो । 

जिल्लाको डिलाशैनी गाउँपालिकाको बांगाबगर, गोकुलेश्वर, रुद्रेश्वर पहिरोको उच्च जोखिममा छन् भने दोगडाकेदार गाउँपालिकाको सित्तड र न्वाली पहिरोको उच्च जोखिममा छन् । यस्तै जिल्लाको पुरचौंडी नगरपालिकाको मल्लादेही क्षेत्र र मेलौली नगरपालिकाको विशालपुर क्षेत्र पनि पहिरोको उच्च जोखिममा रहेको विपद् संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताउनुभयो ।

जिल्लामा हुन सक्ने प्रकोपका घटनाबाट हुने क्षति न्यूनीकरणका लागि जिल्लास्तरमा तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया