भारत : दुई जनासित प्रेम, धोका नदिन दुवैसँग विवाह !

 पुस २४, २०७७ शुक्रबार २०:३५:५७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको छत्तिसगढको बस्तरमा एक जनाले एकै पटक दुई जनासित विवाह गरेका छन् । यो विवाह अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । टिकरा लोहंगा गाउँमा विवाह सम्पन्न भएको हो । 

गाउँमा चन्दू माैर्य नाम गरेका युवाले एउटै मण्डपमा दुई जनासँग विवाह गरेका हुन् । मुरिया जनजातिका चन्दूले आफूले दुवै जनासित प्रेम गरेकाले धोका नदिन दुवैसँग विवाह गरेको बताएकाे बीबीसी हिन्दीले लेखेको छ । 

उनले भनेका छन्,  ‘मैले दुई जनासँगै प्रेम गरेको थिएँ, कोही एक जनालाई धोका दिन सक्दैन थिएँ, मनमा केही प्रश्न थियो तर विवाहका लागि दुवै जना राजी भएपछि विवाहका लागि म पनि तयार भएँ ।’  

चन्दूले सुन्दरी कश्यप र हसीना बघेलसँग एकै पटक विवाह गरेका हुन् । विवाहपछि सुन्दरी र हसीनाले आफूहरू पनि खुशी रहेको प्रतिक्रिया दिएकाे खबरमा उल्लेख छ ।  

चन्दूले आफ्नो सम्बन्धबारे दुवै जनालाई भनेको र त्यो कुरा दुवै जनाले स्वीकार्दै एकैसाथ बस्न तयार भएकाे बताएका छन् । 

पहिला सुन्दरीसँग प्रेममा रहेका चन्दू पछि हसीनाको प्रेममा परेका थिए । तीनै जना एक साथ बसेको झण्डै एक वर्षपछि उनीहरूको विवाह भएको हो ।  

छत्तिसगढका केही जनजातिमा सामान्य विधि पूरा गरेपछि विवाहअघि नै युवा–युवतीसँगै बस्न पाउँछन् । 

विवाहका लागि चन्दूले कार्डसमेत छपाएका थिए । जसमा दुवै जना बेहुलीको नाम लेखिएको थियो । 

सर्व आदिवासी समाजका नेता प्रकाश ठाकुरका अनुसार तीनै जना बालिग छन् । उनीहरू तीनै जना आदिवासी समाजका हुन् । यो समाजमा बहुपत्नी प्रथामा कुनै राेक छैन । त्यसमा पनि आदिवासी समाज पनि यो विवाहमा खुशी छ । 

उच्च अदालतका अधिवक्ता प्रियंका शुक्लाका अनुसार यो विवाहलाई गैरकानुनी भन्न मिल्दैन । आदिवासी जनजातिको परम्परा र संस्कृतिभित्र पर्ने भएकाले यस्ता विवाहलाई कानुनले नरोक्ने उहाँको भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया