खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ - दानाको कच्चा पदार्थमा विदेशको भरपर्दो कुखुराजन्य उत्पादनको लागत मूल्य बढी पर्ने गरेको छ । दानाको कच्चा पदार्थ आयात गर्दा नै वार्षिक ३२ अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिने गरेको हो ।
नेपाल दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रविन पुरी नेपालमा उत्पादन हुन सक्ने कच्चा पदार्थ पनि भारत र तेस्रो देशबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । दानामा ७० प्रतिशत प्रयोग हुने मकै र भटमासको पिना नेपालमा नै उत्पादन गर्न सकिन्छ । मकै ३५ प्रतिशत स्वदेशी उत्पादनले धानेको भए पनि भटमासको पिना पूर्णरुपमा विदेशमा निर्भर हुनु परेको उहाँले जानकारी दिनुभयो ।
पुरीले भन्नुभयो, 'गएकाे वर्ष मात्रै दानाको कच्चा पदार्थमा हामीले ३२ अर्ब रुपैयाँ विदेश पठायौँ । यो वर्ष मूल्य बढेकाले अरु बढ्छ ।' गएकाे वर्षबाट सरकारले कृषि सुधार शुल्क बढाएपछि दानाको लागत मूल्य अरु थपिएको छ । मकैमा पाँच प्रतिशत र भटमासको पिनामा नौ प्रतिशत शुल्क लाग्ने गरेको छ ।
आर्थिक वर्ष २०७३/७४ सम्म यो शुल्क १.६ प्रतिशत मात्रै थियो । पुरी भन्नुहुन्छ, 'नेपालमा कच्चा पदार्थको उत्पादन नभएसम्म कृषि सुधार शुल्क लिनु हुँदैन ।' अनमोल फिड्स प्रालिका प्रबन्ध निर्देशकसमेत रहनुभएका सङ्घका वरिष्ठ उपाध्यक्ष शङ्करप्रसाद कँडेल मकै र भटमासको उत्पादनलाई नेपालमा अभियानको रुपमा सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ ।
यसले कृषकको आयस्तर उकास्ने र कुखुराजन्य उत्पादनको लागत घट्ने उहाँको तर्क छ । कँडेलले भन्नुभयो, 'उत्पादन बढाएर सरकारले मकै र भटमासको दर तोकिदियोस् हामी सबै खरीद गर्न तयार छौँ । '
कृषि सुधार शुल्क शून्य बनाउनुपर्ने भन्दै उहाँले सरकारले आत्मनिर्भर कुखुराजन्य व्यवसाय जोगाउनुपर्ने बताउनुभयो । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेल दानाको लागत मूल्य बढ्दा नेपालमा मासु, अण्डा र चल्लाको मूल्य पनि बढी भएको बताउनुहुन्छ ।
दानाको मूल्य घटाउन सके उपभोक्तालाई सस्तो मूल्यमा मासु र अण्डा उपलब्ध गराउन सकिने उहाँको भनाइ छ । स्काइलार्क दाना कम्पनीका सञ्चालकसमेत रहनुभएका पोखरेल कच्चा पदार्थ र तयारी दानाको भन्सार दर एउटै हुँदा नेपाली उद्योग मारमा परेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, 'मकै, भटमासजस्ता कच्चा पदार्थ नेपालमा उत्पादन गर्न सकिन्छ तर त्यसो नगर्दा कुखुराजन्य पदार्थको लागत मूल्य बढ्यो र धेरै पैसा विदेशिएकाे छ ।' उहाँको कम्पनीले मात्रै वार्षिक एक अर्ब रुपैयाँ कच्चा पदार्थ खरिदका लागि विदेश पठाउने गरेको छ ।
नेपालमै उत्पादन हुने मकैको भण्डारण उपयुक्त नहुँदा र सीपको अभावमा ढुसी लागेर प्रयोग गर्न अप्ठ्यारो भएको भन्दै उहाँले सरकारले कृषकलाई भण्डारण प्रविधि उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
दाना उद्योग सङ्घ चितवनका अध्यक्ष बालचन्द्र खनाल दानाको लागत मूल्य घटाउन सरकारको सहयोग आवश्यक रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, 'नेपालमा जमिन बाँझो छ, मानिस बेरोजगार छन्, कृषि उत्पादन विदेशबाट ल्याउनु पर्ने बाध्यता छ ।' यहाँको उत्पादन लागत बढेको कारण भारतबाट चोरी पैठारी गरी कुखुराजन्य पदार्थ आउने गरेको उहाँले बताउनुभयो ।
किसान दाना उद्योगका प्रबन्ध निर्देशक विनोद पोखरेल आफूले मात्रै कच्चा पदार्थमा एक वर्षमा ७० करोड रुपैयाँभन्दा बढी रकम विदेश पठाउने गरेको भन्दै नेपालमै कच्चा पदार्थ उत्पादनमा जोड दिनुपर्ने बताउनुहुन्छ।
सङ्घका चितवन जिल्ला उपाध्यक्षसमेत रहनुभएका पोखरेल दाना उद्योगमा आवश्यक औजारमा लाग्ने गरेको भन्सारमा सरकारले एक प्रतिशत मात्रै लिनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, 'सरकारले कुखुराजन्य उत्पादनको खपत बढाउन प्रचारप्रसारमा सहयोग गर्नुपर्ने र विदेशबाट आउने कुखुराजन्य पदार्थ रोक्नु पर्छ ।'
नेपालमा अहिले करीब ११८ वटा दाना उद्योग रहेका छन् र तीमध्ये ६० वटा हाराहारी पेलेट दाना उद्योग छन् । पेलेटका दुई भारतीय र दुई चिनियाँ लगानीका उद्योगसमेत रहेका छन् । दाना उद्योगमा मात्रै ४० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको व्यवसायीको भनाइ छ ।
नेपालमा पहिलो पेलेट दाना उद्योग निम्बस समूह हो । प्रोबायोटेक इण्डष्ट्रिज प्रालिले सन् २००४ बाट यो उद्योग सञ्चालन गर्दै आएको छ । उद्योगका कार्यकारी निर्देशक डा दिनेश गौतम सरकार र निजी क्षेत्र मिलेर दानाको कच्चा पदार्थ उत्पादनमा जुट्नु पर्ने बताउनुहुन्छ।
नेपाल अण्डा उत्पादक सङ्घका पूर्व केन्द्रीय सचिव मदन पोखरेलले दाना सस्तो भएमा अण्डा र मासु सस्तो मूल्यमा दिन सकिने बताउनुभयो । उहाँले भन्नुभयो 'हेर्दा सामान्यजस्तो देखिए पनि हाम्रो धेरै पैसा विदेशिएकाे छ । समयमै सरकारले सरकारले सोच्नुपर्छ ।'
दानामा प्रयोग हुने भटमासको पिना, अमेरिका, ब्राजिललगायतका देशबाट ल्याइन्छ भने मकै मुख्यरुपमा भारत र अन्य देशबाट समेत आउने गरेको छ । दानामा मकै, भटमासका अतिरिक्त गोटी ढुटो, तोरीको पिना, क्याल्सियम र औषधि प्रयोग हुने गर्दछ । ती वस्तु पनि विदेशबाटै आयात हुने गर्दछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।