सरकारले इतिहासमा 'रेकर्ड' राख्ने धेरै काम गरेको छ, अब गफ फिट्ने दिन गए : प्रधानमन्त्री ओली

 पुस २६, २०७७ आइतबार १४:१५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले इतिहासमा 'रेकर्ड' कायम राख्ने धेरै काम गरेको दाबी गर्नुभएको छ । 

एकैदिन तीन सय नाै अस्पताल शिलान्यास गरेर सरकारले अहिलेसम्मकै रेकर्ड कायम गरेको उदाहरण दिँदै उहाँले यस्ता थुप्रै काम अहिलेको सरकारले गरेको बताउनुभयो । यसअघि एक वर्ष हैन धेरै वर्षसम्म पनि यो सङ्ख्यामा अस्पताल बनाउन शिलान्यासकाे कामसमेत नभएको भन्दै उहाँले सरकारले जनजीविकाका सवालमा धेरै काम गरेको बताउनुभयो । 

आइतबार राष्ट्रिय सभामा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले अब गफ फिट्ने दिन गएको समेत बताउनुभयो । गफ गरेर बसेर मात्रै नहुने भन्दै उहाँले काम गरेर त्यसको उपलब्धि देखाउनुपर्ने उहाँले बताउनुभयो । आफूले गल्ती गरेको रहेछ भने नागरिकले दण्ड दिने भन्दै उहाँले खुट्टा नकमाइकन चुनावी मैदानमा आउन आह्वान गर्नुभयो । 

यसैबीच उहाँले सरकारले नागरिकमा जागरण फैलाएकै कारण कोरोनालाई थप भयावह हुनबाट बचाएकाे दाबी गर्नुभएको छ । उहाँले अनिवार्य हात धुन, विभिन्न जडीबुटीको प्रयोग गर्न र तातो पानी खान सल्लाह दिएर कोभिडसँग सामना गरिरहेको बताउनुभयो । 

उहाँले कोरोनाविरुद्धको खाेप ल्याउने तयारीमा सरकार रहेको र केही समयमै कोभिडको समस्या समाधान हुने विश्वास गर्नुभयो । नेपाली नागरिकको जीवन नै सरकारको सबैभन्दा पहिलो प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया