प्रधानमन्त्रीलाई दाहाल–नेपाल समूहकाे चेतावनी : ‘पूर्वप्रधानन्यायाधीशहरूलाई नधम्क्याउनुस्’

 पुस २६, २०७७ आइतबार १९:१५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवादी र निरङ्कुश चरित्र देखाएको भन्दै यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले पछिल्लो समय केपी शर्मा ओलीले अधिनायकवादी र निरङ्कुश चरित्रको प्रदर्शन गरेको भन्दै त्यसलाई तत्काल रोक्न चेतावनी दिने निर्णय गरेको हो ।

चार जना पूर्वप्रधानन्यायाधीशले प्रतिनिधि सभा विघटनको बारेमा संवैधानिक व्यवस्था के छ भन्ने सम्बन्धमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्दा प्रधानमन्त्री ओलीले अपमानित र धम्क्याएको भन्दै बैठकले प्रतिवाद गर्दै भर्त्सना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मुख्यतः प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले देश, नागरिक, लोकतन्त्र, संविधान, राजनीतिक स्थिरता र सुशासनप्रतिको निष्ठाका कारण एउटा जिम्मेवार नागरिकको हैसियतमा प्रतिनिधि सभा विघटनको बारेमा संवैधानिक व्यवस्था के छ भन्ने सम्बन्धमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै सार्वजनिक वक्तव्य दिनु भएकोमा उहाँहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अपमानित गर्ने र धम्क्याउने काम गर्नुभएको छ । यो कार्य आपत्तिजनक छ र बैठकले यसको प्रतिवाद गर्दै कडा शब्दमा भर्त्सना गरेको छ ।’

‘उहाँहरू र देशभरिका नागरिक समाजका अगुवा, बुद्धिजीवी, प्राध्यापक, इञ्जिनियर, चिकित्सक, पत्रकार, लेखक, कलाकार, संस्कृतिकर्मी, विभिन्न पक्ष तह र तप्काका नागरिकले असंवैधानिक अलोकतान्त्रिक र प्रतिगामी कदमका विरुद्ध आफ्नो विचार प्रकट गरिराखेका छन्, सबै नागरिकको स्वतन्त्रता र संवैधानिक अधिकारको सम्मान गरिनुपर्छ, रक्षा गरिनुपर्छ र हामी संवैधानिक अधिकार र स्वतन्त्रताको रक्षा गर्न प्रतिबद्ध छौँ । सबै नागरिक समाज प्रबुद्ध व्यक्तिलाई एकजुट हुन र संवैधानिक अधिकार र अभिव्यक्ति स्वतन्त्रको रक्षा गर्न आह्वान गर्ने निर्णय गरेको छ’, उहाँले थप्नुभयाे । 

बैठकले सरकारी सञ्चार माध्यमहरू कुनै गुटको प्रचारक जस्तो भएर काम गरेको भन्दै राज्यको स्रोत साधन दुरुपयोग गर्दै गुटलाई सेवा गर्ने काम बन्द गर्न मागसमेत गरेको छ । बैठकले पार्टीको सम्पूर्ण निकायलाई पार्टीको सुदृढीकरणमा लाग्न र सङ्घर्षका कार्यक्रमलाई प्रभावकारीरूपमा सफल पार्न निर्देशन दिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिएकोमा आफूहरूको विरोध रहेको बताउनुभयो । प्रतिनिधि सभा विघटनपछिको प्रधानमन्त्री ओलीको पहिलो सम्बोधनलाई अस्वीकार गर्दै राष्ट्रिय सभाको आइतबारको बैठकमा सहभागी नभएको पनि उहाँको भनाइ छ ।

सञ्चारकर्मीको जिज्ञासाको उत्तर दिँदै प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्डको भारत भ्रमण परिवारलाई स्वास्थ्य उपचार गराउने सिलसिलामा भएको र उहाँको कुनै राजनीतिक भेटघाट तथा राजनीतिक वार्ता नभएको पनि स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया