दुर्घटनाग्रस्त विमानको 'ब्ल्याक बक्स' हरू भएकाे ठाउँ पत्ता लागेकाे इन्डाेनेसियाली अधिकारीहरूकाे भनाइ

 पुस २६, २०७७ आइतबार १९:५२:३८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इन्डाेनेसियाली उड्ययन अधिकारीहरूले दुर्घटनाग्रस्त इन्डोनेसियाकाे श्रीविजया एअर बोइङ ७३७ का दुवै ‘ब्ल्याक बक्स’को ठाउँ पत्ता लगाएको बताएका छन् । 

उनीहरूले ‘ककपिट’ आवाज र उडानको ‘डाटा रेकर्डर’ लाई सङ्केत गर्दै ‘ब्ल्याक बक्स’का माध्यमबाट विमानमा दुर्घटनापूर्व के भएको हो भनेर बुझ्नका लागि महत्त्वपूर्ण जानकारी मिल्ने बताएका छन् ।   

'हामीले दुबै ‘ब्ल्याक बक्स’ रहेको स्थान पत्ता लगाउन सफल भएका छौँ', इन्डोनेसियाको यातायात सुरक्षा निकायका प्रमुख सोरजान्टो तज्जान्टोले भने, 'गोताखोरहरूले छिट्टै ती यन्त्रलाई खोज्न थाल्नेछन् र छिट्टै ब्ल्याक बक्सलाई पानीबाट बाहिर निकालिनेछ ।'  

यसअघि इन्डोनेसियाको राजधानी जकार्ता नजिकको जलक्षेत्रबाट उद्धारकर्ताले एउटा दुर्घटनाग्रस्त विमानमा सवार व्यक्तिका अवशेष, विमानका टुक्रा र लत्ताकपडा बाहिर निकालेकाे बताइएको छ । 

जकार्ताबाट शनिबार अपराह्न उडेको एउटा यात्रुवाहक विमान उडेको केही मिनेटभित्रै जकार्ता नजिकको समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका सदस्यसहित ६२ जना सवार थिए ।

जकार्ताको सोकार्नो–हाता अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको श्रीविजया एयरको बोइङ ७३७ विमान उडेको चार मिनेटभित्रै सिधै समुद्रमा खसेको प्रारम्भिक अनुसन्धानपछि बताइएको छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया