पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन १ मा

 पुस २८, २०७७ मंगलबार १०:५२:२४ | रासस
unn.prixa.net

काठमाण्डाै - भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५ औँ संस्करण आउँदाे फागुन १ गते हुने भएको छ । 

म्याराथनको विजेताले दुई लाख तथा द्वितीय एक लाख रुपैयाँ, तृतीयले ७५ हजार र सान्‍त्‍वनाले २५ हजार रुपैयाँ  पुरस्कार प्राप्त गर्ने मञ्चले जानकारी दिएको हो । 

सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकुदको विश्व मानचित्रमा स्थापित गराएर खेलकुद पर्यटन प्रवर्द्धनका लागि म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजकको भनाइ छ । 

यस वर्षदेखि महिलाका लागि २१ किमी (हाफ म्याराथन) पोखरा म्याराथनमा समावेश गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो । हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः एक लाख, ७५ हजार,  ५० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

नेपाली खेलकुदमा महिला खेलाडीको भूमिकासँगै महिलालाई खेलतर्फ आकर्षण गर्न र उनीहरुको प्रतिभालाई उजागर गर्न हाफ म्याराथनले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ । गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरसँग भगिनी सम्बन्ध कायम भएका चीन, जापान, बेलायतलगायत विश्वका अन्य देशका खेलाडीलाई म्याराथनमा सहभागिता गराउनका लागि प्रयास भइरहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । 

कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी अन्य विभिन्न इभेन्टलाई फरक-फरक मितिमा आयोजना गरिने भएको छ । जसअन्तर्गत ह्विलचियर दौड महिला र पुरुष तथा दृष्टिविहीन दौड फागुन २२ गते हुनेछ ।

यसैगरी १० किमी महिला/पुरुष दौड आउँदाे चैत १४ गते र पाँच किमी छात्र/छात्रा दौड आउँदाे वैशाख ४ गते सञ्चालन गरिने आयोजकले जनाएको छ । दश किमी महिला/पुरुष दौडमा विजेता १५ हजार तथा द्वितीय र तृतीयले १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने मञ्चका महासचिव खेम गुरुङले जानकारी दिनुभयो ।

ह्विलचियर र दृृष्टिविहीनतर्फका दुवै इभेन्टमा विजेताले सात हजार, द्वितीयले पाँच हजार र तृतीयले तीन हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी छात्र/छात्रा दौडमा प्रथमले १० हजार द्वितीयले सात हजार र तृतीय हुनेले चार हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

म्याराथनका लागि ५० लाख ६० हजार रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान रहेकामा प्रदेश सरकार, पोखरा महानगरपालिका लगायत सरकारी तथा निजी सङ्घसंस्थाबाट सहयोग सङ्कलन गरिने आयोजकले जनाएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया