१ सय ५ वर्षको उमेरमा नागरिकता, भूकम्पपछिको पुनर्निर्माण बन्यो कारण

 पुस २८, २०७७ मंगलबार १८:२१:१ | उषा तामाङ
unn.prixa.net

दोलखा – नेपालको संविधान २०७२ ले भाग २ मा नागरिकतासम्बन्धी व्यवस्था गरेको छ । जन्मेको १६ वर्ष पूरा भएपछि नेपाली नागरिकले नागरिकता प्राप्त गर्ने प्रावधान छ । १६ वर्ष पूरा हुनासाथ जिल्ला प्रशासन कार्यालयमा गइ नागरिकता लिन सकिन्छ । 

जिल्ला प्रशासन कार्यालय दोलखामा नागरिकतासहित राहदानी बनाउन आउनेको सङ्ख्या बढी नै हुने गर्छ । यसरी कार्यालय आउनेहरुमा अधिकांश युवावस्थाका हुन्छन् । तर मङ्गलबार (आज) कार्यालयमा अनुहार बेस्सरी चाउरिएको, नाकमा फुली र बुलाकी लगाउनुभएकी सेतै कपाल फुलेको, रातो सुइटर र फरिया लगाउनुभएकी एक सय पाँच वर्ष उमेर पुग्नुभएकी दुर्गमाया कार्की पुग्नुभएको थियो । सम्भवतः दोलखाकै ज्येष्ठ नागरिक कार्की कार्यालयमा नेपाली नागरिकता लिन सदरमुकाम आउनुभएको हो । 

१९७२ साल भदौ १८ गते जन्मनुभएकी तामाकोशी गाउँपालिका ४ को मालुकी कार्कीको सानै उमेरमा मेलुङ गाउँपालिका ३ को घ्याङसुकाठोकरमा विवाह भयो । विवाहपछि छोरी जन्माउनुभएकी कार्कीको श्रीमानसँगको सम्बन्ध सुमधुर नभएपछि छोरीसहित माइतीघर मालुमै गएर बस्नुभयो । त्यस समयमा नागरिकताको उति धेरै आवश्यकता नपर्ने भएपछि नागरिकता बनाउनुपर्छ भन्ने दुर्गमायालाई लागेन ।

२०४० सालमा श्रीमानको मृत्युपछि नागरिकता बनाउन लागे पनि श्रीमान् पटिट्का अंशियार दाजुभाइले अंश दिनुपर्ने भन्दै नागरिकता बनाउनका लागि सहयोग गर्न तयार भएनन् । 

भूकम्पपछिको निजी आवास निर्माण बन्यो नागरिकताको कारण 

जीवनका एक शताब्दी पूरा गर्दै गर्दा २०७२ सालमा भूकम्प आयो । १९९० सालको भूकम्पसमेत भोग्नुभएकी दुर्गामायाले एउटै जुनीमा दुई वटा विनाशकारी भूकम्पको सामना गर्नुप¥यो ।

आफ्नो एक्ली सन्तान छोरीको साथमा बस्दै आउनुभएकी कार्कीको घर भत्कियो, बसाइ टहरोमा पुग्यो । छोरीको घरमा बस्दै आएकाले लाभग्राही सूचीमा नाम आए पनि घर बनाइएको थिएन । भूकम्पपछिको पुनर्निर्माण अन्तिम अवस्थामा आइपुग्दा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ताकेता गर्न थालेपछि दुर्गमायाकी छोरी आमाको नामको घर बनाउन कस्सिनुभयो ।

निजी आवास निर्माणका लागि अनुदान सम्झौता गर्न लाभग्राहीको नागरिकता पनि आवश्यक पर्छ । तर दुर्गमायाको नागरिकता बनेको थिएन । झण्डै नागरिकता बनाउनका लागि एक वर्ष लागिपरे पनि सनाखतका लागि कोही तयार भएनन् ।

तर वडा कार्यालयको निरन्तर पहल र जिल्ला प्रशासन कार्यालय दोलखाको समन्वयमा उहाँलाई नागरिकता प्रदान गरिएको मेलुङ गाउँपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नम्बर ३ का वडाध्यक्ष हिरा थोकरले जानकारी दिनुभयो । अहिलेसम्म सामाजिक सुरक्षा भत्ताबाट समेत बञ्चित कार्कीलाई उहाँले प्राप्त गर्ने सम्पूर्ण सुविधा प्रदान गर्ने वडाध्यक्ष थोकरको भनाइ छ ।  

पहिलो पटक यति धेरै उमेरकाले पाए नागरिकता

जिल्ला प्रशासन कार्यालय दोलखाले विभिन्न उमेर समूहका व्यक्तिलाई नागरिकता प्रदान गर्ने गरेको छ । तर एक सय पाँच वर्ष उमेरका ज्येष्ठ नागरिकलाई पहिलो पटक नागरिकता प्रदान गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले जानकारी दिनुभयो । कान कम सुन्ने दुर्गमाया कार्की हातमा नागरिकता परेपछि दिल खोलेर मुस्कुराउनुभएको थियो ।   

अन्तिम अपडेट: बैशाख १२, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया