उपत्यकाका ट्राफिक बत्ती ‘स्मार्ट’ प्रणालीमा लैजाने

 पुष २९, २०७७ बुधबार १३:१६:५९ | रासस
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक बत्तीलाई ‘स्मार्ट’ व्यवस्थापनका लागि सडक विभागले ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानको तयारी अघि बढाएको छ ।

यो प्रणालीमा कुनै पनि स्थानमा त्यहाँको सवारी चापका आधारमा उपकरणबाटै बत्तीको व्यवस्थापन हुने सडक विभागले जनाएको छ । अहिलेसम्म हरेक चोकको फरक–फरकरूपमा व्यवस्थापन हुँदै आएकामा त्यसले एउटै व्यवस्थापनमा ल्याउने विभागका सवारी तथा ट्राफिक व्यवस्थापन शाखाका प्रमुख कृष्णनाथ ओझाले बताउनुभयो ।

अहिलेसम्म कुन–कुन समयमा कुन रङका बत्ती कतिबेर बल्ने भन्ने निर्धारण ट्राफिक प्रहरीले गर्दै आएका थिए । उहाँले भन्नुभयो, “अहिलेसम्म ट्राफिकले सवारी चाप हेरेर कतातिरको सडकमा हरियो कतिबेर र रातो कतिबेर बाल्ने भन्ने निर्धारण गर्दथे भने यही काम अब उपकरणले गर्नेछ ।” 

विभागले नेपलमा पहिलोपटक ‘स्मार्ट’ ट्राफिक बत्ती व्यवस्थापन शुरु गर्न लागेको हो । चालु आर्थिक वर्षभित्रै यो डिजाइनमा जाने प्रमुख ओझाको भनाइ छ । उहाँले भन्नुभयो, “डिजाइन भइसकेपछि खरिद प्रक्रिया अघि बढाइनेछ ।”

एक दशक पहिले काठमाडौँ उपत्यकाका केही चोकमा बत्ती जडान भए पनि तीनले काम गरेका थिएनन् । विभागले गत दुई वर्ष पहिलेदेखि सवारी चाप बढी भएका सडकमा बत्ती जडान गर्दै आएको छ । चालु आवमा पाँच चोकमा र आगामी आवमा सात ठाउँमा बत्ती जडानको तयारी गरिएको छ । 

उपत्यकाका पालिकाले पनि आवश्यक स्थानमा बत्ती जडान गरिरहेका छन् । ट्राफिक प्रहरीले हेरेर व्यवस्थापन गर्दा कतिपय चोकमा सवारी चाप कम भएका सडकतर्फ बढी समयसम्म हरियो बत्ती र कम चाप भएका सडकतर्फ बढी समयका लागि बलेको देख्न सकिन्छ । चोक–चोकमा हुने सवारी चाप व्यवस्थापनका लागि अहिले ट्राफिक बत्तीले सहयोग गरेकामा स्मार्ट प्रणालीले थप व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया