माघे सङ्क्रान्तिमा ३५ हल गोरु जुधाइयो

 माघ १, २०७७ बिहिबार २०:२९:२४ | रासस
unn.prixa.net

फाइल फाेटाे

नुवाकोट – नुवाकोटका विभिन्न ठाउँमा यस वर्षको माघे सङ्क्रान्तिमा ३५ हल गोरु जुधाइएको छ । माघे सङ्क्रान्तिमा गोरु जुधाउने मेलालाई पछिल्लो समय व्यवस्थित रूपमा जिल्लाका विभिन्न ठाउँमा जुधाउन थालिएको छ ।

बिहीबार (आज) तारकेश्वर गाउँपालिका–३, तारुका, विदुर नगरपालिका–१० बेत्रावती, पञ्चकन्या गाउँपालिका–३ घलेगाउँ, तादी गाउँपालिका–४ सातबिसे र शिवपुरी गाउँपालिका–३, शेराबगरमा माघ १ गते गोरु जुधाउने मेला सञ्चालन भएको छ । पाँच ठाउँमा गरी ३५ हल गोरु जुधाइएको आयोजकहरूले जनाएका छन् । 

सबैभन्दा धेरै तारुकामा १४ हल गोरु जुधाइएको छ । माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा सञ्चालन भएको गोरु जुधाइमा तारुका हजारौँ दर्शक गोरु जुधाइ हेर्नका लागि पुगेका थिए । 

गाउँमा विभिन्न ठाउँमा गोरु जुधाउने चलनलाई एकत्रित गर्दै २०६२ सालबाट व्यवस्थित रूपमा एकै ठाउँमा गोरु जुधाउन थालिएको मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर–३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले बताउनुभयो ।

विदुर नगरपालिका–१० बेत्रावतीमा यस वर्ष वरपरका पाँच हलमात्र गोरु जुधाइएको गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलले बताउनुभयो । कोरोनाका कारण धेरै प्रचार–प्रसारमा जोड नदिइ परम्परालाई निरन्तरता दिने उद्देश्यले मात्र थोरै सङ्ख्यामा गोरु जुधाइने योजना बनाएको उहाँको भनाइ छ । 

यस्तै पञ्चकन्या गाउँपालिका–३ घलेगाउँमा पाँच हल गोरु जुधाइएको आयोजक नवप्रतिभा युवा समाजका अध्यक्ष शिवहरि विष्टले बताउनुभयो । विजेता तथा सहभागी गोरुका धनीहरूलाई १५, १० र पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । पञ्चकन्यामा पछिल्लो पाँच वर्षदेखि गोरु जुधाउने मेला सञ्चालन हुँदै आएको छ ।

यस्तै तीन वर्षअघिदेखि गोरु जुधाउन थालिएको शिवपुरी गाउँपालिका ५ शेराबगरमा यस वर्ष तीन हल गोरु जुधाइएको आयोजक शेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया