कास्कीमा जीप दुर्घटना : दुईको ज्यान गयाे, सात घाइते

 माघ ४, २०७७ आइतबार १३:११:३६ | रासस
unn.prixa.net

कास्की - पोखरा-बाग्लुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् ।

दुर्घटनामा पोखरा महानगरपालिका-१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिनुभयो । प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

जीपमा नौ जना रहेकामा घाइतेको अहिले सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । पोखरा-२५ हेम्जाबाट पोखराबजारतर्फ आउँदै गरेको बा २ च ७४१० नंको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । जीप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल खसेको बताइन्छ ।

दुर्घटनामा एक जनाको मृत्यु इनरुवा : सुनसरीको इटहरी उपमहानगरपालिका-१ आँपगाछीमा शनिबार साँझ सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धरान-१० का ३० वर्षीय विक्रम चेमजोङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इटहरीबाट धरानतर्फ जाँदै गरेको को ३२ प ६७१६ नंको मोटरसाइकल र धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ५५२७ नंको ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार चेमजोङको ज्यान गएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।

मोटरसाइकलमै रहेका धरान-१० का साइल तुलाधर घाइते भएका छन् ।

 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया