खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
नवलपरासी - बौदीकाली गाउँपालिका–३ र ४ का बासिन्दाले विद्युतकाे काम छिटोभन्दा छिटो सम्पन्न गर्न माग गरेका छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पर्ने यी वडामा बिजुलीको पोल गाडेको दुई वर्ष बितिसक्दा पनि बिजुली पुग्न भने सकेको छैन । चालु आर्थिक वर्षको असोज मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने भए पनि यहाँ काम अलपत्र परेको छ ।
विद्युतीयकरणका लागि विसं २०७५ मा भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशमार्फत एक करोड ८२ लाख १५ हजार ३९७ रुपैयाँ बजेट विनियोजन गरिएको थियो । विसं २०७६ माघ महिनादेखि यहाँ पोल गाड्ने काम सुरु भएको थियो । गएकाे चैत महिनामा नै पोल गाड्ने काम अन्तिम चरणमा पुगेको भए पनि त्यसयता काम ठप्प हुँदा बिजुली बालेर उज्यालोमा बस्ने सपना देखेका यहाँका बासिन्दा निराश भएका छन् ।
गएकाे वर्षको चैत महिनादेखि लकडाउन भएपछि काम रोकिएको थियो । अन्य ठाउँका विकास निर्माणका काम विगत चार/पाँच महिनादेखि नै सञ्चालन भइरहँदा यहाँको काम सञ्चालन हुन नसक्दा उज्यालोमा बस्ने स्थानीयवासीको आशा निराशामा परिणत भएको स्थानीय अगुवा कुलमणि ढुङ्गानाले बताउनुभयो ।
'हामीले पटक–पटक स्थानीय र प्रदेश सरकारलाई यस विषयमा ध्यानाकर्षण गरायौँ तर कसैले पनि चासो देखाएका छैनन् । देशैभर विभिन्न विकास निर्माणका कामले गति लिँदा पनि यस गाउँमा विद्युत् प्राधिकरणको काम अलपत्र परेको छ । काम छिटो सम्पन्न गरेर हाम्रो समस्याको सामाधान गर्नुपर्यो', ढुङ्गानाले भन्नुभयो ।
गाउँमा बत्ती आए धेरै सुविधा हुने, कुटानी पिसानीदेखि बत्ती बाल्न, टीभी हेर्न सजिलो हुने स्थानीयवासी कृष्णप्रसाद पराजुलीले बताउनुभयो । उहाँका अनुसार विद्युत् नहुँदा कतिपयले गाउँ छाडेर गएका छन् । 'विद्युत् नहुँदा युवा पनि गाउँबाट पलायन भएर अन्त गएका छन् । बिजुली भएको भए त गाउँमै केही गर्ने थिए होला नि ?', पराजुलीले भन्नुभयो, 'सिँचाइलाई पानीको पनि समस्या रहेकाले बत्ती आएको भए जेनेरेटरले खोलाबाट पानी तान्न पनि सजिलो हुने थियो, अरु सबै मेसिन चलाउन सजिलो हुने थियो तर बत्ती नहुँदा सबै कुरामा समस्या छ ।'
बौदिकाली गाउँपालिकाको वडा नं ३ र ४ मा करिब पाँच किलोमिटरको दूरीमा १५० वटा हाइटेन्सनका पोल गाडिएका छन् भने पालिकाका करिब १५ किलोमिटरको दूरीमा ४०० पोल गाडिएको विद्युत् प्राधिकरण लेखनाथ वितरण केन्द्रका इञ्जिनीयर कविन्द्रकुमार झाले जानकारी दिनुुभयो ।
चालु आवको असोज मसान्तसम्म बिजुली बाल्ने सम्झौता भएको भए पनि कोरोना सङ्क्रमणका कारणले रोकिएको झाले बताउनुभयो । त्यसपछि अहिले डिस इन्सुलेटरको अभावले कामलाई अगाडि बढाउन नसकिएको उहाँको भनाइ छ । विद्युत् प्राधिकरण काठमाण्डौले डिस इन्सुलेटरको व्यवस्थापन गरेपछि मात्रै तनहुँबाट विद्युत् तार जडान गरी काम अगाडि बढाउन सकिने झाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।