चालु आर्थिक वर्षमा काठमाण्डाै महानगरका ६९ पूर्वाधार सम्पन्न

 माघ ७, २०७७ बुधबार १०:५५:५७ | रासस
unn.prixa.net

काठमाण्डाै –  काठमाण्डाै महानगरपालिकाले आर्थिक वर्षको पहिलो ६ महिनामा ६९ पूर्वाधार निर्माणका योजना सम्पन्न गरेको जनाएको छ । यस अवधिमा कामपाको अघिकार क्षेत्रभित्र पर्ने २३ किलोमिटर सडक कालेपत्र र ३४ हजार एक सय ६५ बर्गमिटर सडक मर्मत गरिएको छ । चार वडा भवन, दुई अन्य भवन र दुई आकाशे पुल निर्माण सम्पन्न गरिएको कामपाले जनाएको छ ।

त्यसैगरी तीन किलोमिटर सडक ढलान गरिएको छ । नौ सय ७२ मिटर ढल राख्ने र आठ सय ६० मिटर ब्लक छाप्ने काम सकिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । कामपाभित्र करिब एक हजार चार सय ५० किलोमिटर पक्की सडक छ । कामपाले आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्छ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९ सय ५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् ।

दुई सय एक चालु अवस्थामा र एक सय ६५ गएको वर्षबाट दायित्व सरेर आएका गरी तीन सय ६६ मध्ये दुई सय २५ कार्यान्वयन चरणमा छन् भने ७२ वटा शुरु हुन बाँकी रहेको कामपाले जानकारी दिएको छ । यता सामाजिक विकासतर्फ एक अर्ब ६२ करोड रुपैयाँको योजना छन् । सामाजिक सुरक्षासम्बन्धी कामपाले लिएका २३ नीतिका आधारमा विभागले आन्तरिक स्रोतबाट गर्ने गरी ७७, नेपाल सरकारबाट प्राप्त सःशर्त अनुदानबाट २४ र प्रधानमन्त्री रोगजार कार्यक्रमबाट आठ गरी एक सय ९ कार्यक्रम तय गरेको छ । तीमध्ये ६६ कार्यक्रम शुरु गरिसकिएका र ३२ कार्यक्रम कार्यान्वयनको चरणमा छन् ।

त्यसैगरी आयतर्फ अहिलेसम्म तीन अर्ब १० करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ । गएको वर्ष यस अवधिमा चार अर्ब २२ करोड रुपैयाँ सङ्कलन भएको थियो । लक्ष्यका आधारमा गएको वर्षको पहिलो छ महिनामा ३५ प्रतिशत राजश्व प्राप्त भएको थियो भने यस वर्ष २९ प्रतिशत प्राप्त भएको छ । सङ्कलित रकममध्ये रु एक अर्ब ७५ करोड  अनलाइन प्रणालीबाट प्राप्त भएको हो । कामपाका मुख्य कर शीर्षकहरुमा सम्पत्ति कर, व्यवसाय कर, बहाल कर, मनोरञ्जन करलगायत छन् ।

कामपाले चालु आवमा १४ अर्ब २६ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । कामपा भौतिक पूर्वाधार विभागका लागि चालु आवको विनियोजित बजेट रु तीन अर्ब एक करोड ६१ लाख छ हजार छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया