सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधि सभा विघटन : प्रधानमन्त्री

‘हामी रातो झण्डा फहराउनेवालाहरू हौँ, काला झण्डा बोकेर हिँड्नेवाला होइनौँ ’

 माघ ८, २०७७ बिहिबार १६:२२:२६ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद किनबेचको खेल फेरि सुरु हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशमा जान लागेको बताउनुभएको छ ।

प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको बिहीवार उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष ओलीले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ लागेको जनाउनुभयो ।

‘देशमाथि सांस्कृतिक र अनेक हमला भइरहेको छ । यसमा हामी सबै सजग हुनुपर्छ । देश बनाउने हो भने हामीले सहमति कायम राख्न आवश्यक छ’, उहाँले भन्नुभयो, ‘हामी कुनै आक्रोश, उत्तेजना र पूर्वाग्रह साध्ने होइनौँ । हामी रातो झण्डा फहराउनेवालाहरू हौँ । काला झण्डा बोकेर हिँड्नेवाला होइनौँ । हामी उज्यालो र चम्किलो भविष्यतर्फको गन्तव्यतर्फ अघि बढ्न स्पष्ट छौँ । हामीलाई देश बनाउनु छ । सुशासन र विकासको बाटामा जानु छ ।’ 

अर्को प्रसङ्गमा  प्रधानमन्त्री ओलीले पीत पत्रकारिता आफैँ हराएर जाने जनाउँदै देश, नागरिक, लोकतन्त्र, स्थिरता र सत्यका पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो ।

‘समृद्ध नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रतासहितको सबल श्रमजीवी पत्रकार : स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा : प्रेस सङ्गठन नेपालको आधार’ भन्ने नाराका आयोजित यस भेलामा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत नेता, मन्त्री र पत्रकारिता क्षेत्रका अग्रजको सहभागिता छ ।   

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया