अस्ट्रेलियाबाट आफ्नो सर्च इञ्जिन हटाउने गुगलको धम्की

 माघ ९, २०७७ शुक्रबार १४:५७:५५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – गुगलले अस्ट्रेलियाबाट आफ्नो सर्च इञ्जिन हटाउने धम्की दिएको छ । अस्ट्रेलिया सरकारले त्यहाँका सञ्चारमाध्यमका समाचार सामग्री प्रयोग गरेबापत रोयल्टी मागेपछि विश्वकै धेरै प्रयोग हुने गुगलले आफ्नो सर्च इञ्जिन अस्ट्रेलियाबाट हटाउने धम्की दिएको बीबीसीले जनाएको छ ।

अस्ट्रेलिया सरकारले त्यहाँका सञ्चारमाध्यममा प्रकाशन भएका सामग्री प्रयोग गरेबापत रोयल्टी दिन गुगल र फेसबुकलाई चाँडै नयाँ आचारसंहिता ल्याउन लागेपछि गुगलले यस्तो धम्की दिएको हो । गुगल अस्ट्रेलियाका निर्देशक मेल सिल्भाले यदि अस्ट्रेलिया सरकारले प्रस्तावित मस्यौदा कानुनको रूपमा लागू गरेमा आफूहरूले अस्ट्रेलिया छाड्नुपर्ने बताएका बीबीसीमा उल्लेख छ ।

ठूला कम्पनीहरूले समाचार पढ्न चाहने मानिसबाट ग्राहक लिने गरेकाले अब ती कम्पनीहरूले अस्ट्रेलियाको सञ्चारमाध्यमलाई उनीहरूको पत्रकारिताको लागि रोयल्टी तिर्नु पर्ने अस्ट्रेलिया सरकारले तर्क गर्दै आएको छ ।

गएको महिना अस्ट्रेलियाका अर्थमन्त्री जस फ्राइडेनबर्गले गुगल र फेसबुकलाई पहिलो चरणमा लक्षित गरि भुक्तानीको आचारसंहिता लागू गर्ने जानकारी दिएका थिए । लगत्तै फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्ताहरूलाई त्यहाँका स्थानीय र अन्तर्राष्ट्रिय समाचारहरू शेयरमा प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया