फेरि केपी ओलीसँग मिल्ने हुन् कि भन्ने आशङ्का नगर्नुस् : नेता नेपाल

ओलीसँग सानो अरिङ्गालको झुण्ड र साइबर सेना मात्रै भएकाे दाबी

 माघ ९, २०७७ शुक्रबार १७:५४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको भष्मासुर प्रवृत्तिको अन्त्य गरि प्रतिनिधि सभा पुनर्स्थापना गरिने बताउनुभएको छ ।

शुक्रबार आफ्नाे समूहकाे केन्द्रीय सङ्घर्ष समितिले प्रतिनिधि सभा विघटनको विरुद्धमा आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको भष्मासुर प्रवृत्तिको अन्त्य गर्दै प्रतिनिधि सभाको पुनर्गठन गरिने बताउनुभएको हो । उहाँले पार्टीले केपी ओली बनाएको भए पनि ओली भष्मासुर बनेको भन्दै भष्मासुरलाई पार्टीले सिध्याउने बताउनुभयो । भष्मासुर प्रवृत्तिको अन्त्यपछि नयाँ ढङ्गले अघि बढ्ने उहाँको भनाइ छ ।

उहाँले प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, पार्टी र देशको स्थायित्वमाथि खड्ग प्रहार गरेको बताउनुभयो । अध्यक्ष नेपालले अरू राजनीतिक दलले फेरि आफूहरू केपी ओलीसँग मिल्ने हुन् कि भन्ने आशङ्का गरेको भन्दै केपी ओलीसँग झुक्ने कुनै काम नगर्ने बताउनुभयो । ओलीसँग मिल्छन् भन्ने भ्रम नपाल्न उहाँले आग्रह गर्नुभयो । आफूहरूले मूल्य र विचारको राजनीति गरे पनि ओली कम्युनिस्ट आदर्शमा समर्पित नभएको र सिद्धान्तनिष्ठ नभएको उहाँको भनाइ छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्री केपी ओली हिटलरको बाटो हिँडेको टिप्पणी गर्नुभयो । ओली निर्वाचित व्यक्ति भए पनि संवैधानिक कु गरेको उहाँले बताउनुभयो । नेपाली नागरिक ओलीको हिटलर प्रवृत्तिसँग नडराउने उहाँको भनाइ छ । संविधानले राजनीतिक स्थायित्वको सुनिश्चितता, नियन्त्रण र सन्तुलनको सिद्धान्त राखे पनि ओलीले आफूमा मात्रै शक्ति केन्द्रित गरेको उहाँले बताउनुभयो । एकाधिकारवादको विरोधमा आफूहरू रहेको नेता नेपालकाे भनाइ छ ।

प्रधानमन्त्री ओलीसँग पार्टी र संसद्को बहुमत हिस्सा नरहेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भए पनि नरसंहार गरेको अध्यक्ष नेपालको भनाइ छ । पार्टीको सम्पूर्ण तह र तप्कामा आफूहरूको अत्यधिक बहुमत भएको र ओलीसँग सानो अरिङ्गालको झुण्ड र साइबर सेना मात्रै भएको उहाँले बताउनुभयो । अध्यक्ष नेपालले सूर्य चिह्न निर्वाचन आयोगबाट ल्याउने मान्छे आफू जिउँदै भएकाले सूर्य चिह्न आफूहरूले नै पाउने दाबी गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया