प्रधानमन्त्रीज्यू, सडकमा आउनुस्, नागरिक कतातिर छन् भन्ने थाहा हुन्छ : नेता खनाल

 माघ ९, २०७७ शुक्रबार १८:४३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको भगौडा भएको टिप्पणी गर्नुभएको छ ।

शुक्रबार आफ्नाे समूहकाे केन्द्रीय सङ्घर्ष समितिले प्रतिनिधि सभा विघटनको विराेधमा आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै वरिष्ठ नेता खनालले ओली नेकपाको भगौडा भएको टिप्पणी गर्नुभएको हो । नेकपा क्रान्ति र प्रतिक्रान्तिको विभिन्न श्रृङ्खला पार गर्दै ७१ वर्ष पार गरेको स्मरण गर्दै उहाँले केपी ओली कम्युनिस्ट आन्दोलनभित्रको घातक तत्त्व रहेको बताउनुभयो । ओली नेकपाको अध्यक्ष बन्न लायक नरहेको उहाँको भनाइ छ । ओलीले सानो गुट बनाएर पार्टीलाई चोइट्याएको उहाँले बताउनुभयो ।

नेकपा बलियो र सुदृढ भएको भन्दै सुदृढ पार्टीमा गलत मान्छे बस्न नसक्ने र ओलीले प्रतिगमन गरेका कारण पार्टीबाट आफै भाग्नुपर्ने अवस्था आएको नेता खनालकाे भनाइ छ ।

वरिष्ठ नेता खनालले प्रतिनिधि सभा विघटनलाई प्रधानमन्त्री ओलीले राजनीतिक कदम भन्ने गरेको भन्दै यो राजनीतिक कदम नभइ प्रतिगमनकारी कदम भएको बताउनुभयो । प्रधानमन्त्रीले संविधानअनुसार चल्नुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले नागरिकले स्थिरताका लागि दिएको जनादेशविरुद्ध आक्रमण गरेको तथा संविधानलाई च्यातेर ध्वंसको थालनी गरेको नेता खनालकाे भनाइ छ । उहाँले नागरिक कतातिर छन् भनेर सडकमा आएर हेर्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभयो ।

वरिष्ठ नेता खनालले संविधानले बनाएको सर्वोच्च अदालत भएकाले सर्वोच्चले संविधानबाहिर गएर कुनै व्याख्या विश्लेषण गर्न नमिल्ने बताउनुभयो । सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गर्नुको विकल्प नभएको उहाँको भनाइ छ । त्यसैगरी निर्वाचन आयोग पनि प्रचण्ड–माधवले नेतृत्व गरेको नेकपालाई नै आधिकारिक पार्टी भन्न बाध्य हुने उहाँले बताउनुभयो ।

उहाँले प्रतिगमन नसच्चिएसम्म र केपी ओलीले घुँडा नटेकेसम्म कफन बाँधेर सडकमा उत्रिने बताउनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया