हिउँ नपर्दा किसान चिन्तित, हिमालका आधाभन्दा बढी भाग कालापत्थरमा परिणत

 माघ ११, २०७७ आइतबार १५:३८:१७ | रासस
unn.prixa.net

मनाङ – यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र  खेतबारी मरुभूमि जस्ता भएका छन् । हिउँले ढाकिएका जमिनमा रसिलो माटो अनि खेतबारीमा मल भिज्नाले बाली फस्टाउने यहाँका किसान बताउँछन् । 

‘सँधैजसो मङ्सिरको पहिलो हप्तादेखि हिउँ पर्न सुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन’, किसान याङ्डु गुरुङले भन्नुभयो । 

विगतमा मङ्सिर सुरु नहुँदै डाँडाकाँडा हिउँले सेताम्मे हुन्थ्यो । चारैतिर सेता हिमाल टल्किन्थे । केही वर्षयता भने हिउँ कम पर्न थालेको छ । यसपालि हिमपात नहुँदा सेता हिमाल कालापत्थरमा परिणत भएको छ । अन्नपूर्ण हिमशृङ्खलामा पर्ने हिमालमा अन्नपूर्ण दोस्रो, तेस्रो, चौथो, गङ्गापूर्ण, लमजुङ हिमाल छन् । अन्य ससाना चुचुरा छन् । 

हिमाली जिल्ला  मनाङमा गएको वर्ष मङ्सिर पहिलो हप्ता भारी हिमपात भएको थियो । बाक्लो हिउँ परेकाले धेरै समयसम्म हिमाल सेता देखिएका थिए । यस वर्ष खासयाममा समेत हिमपात भएको छैन । हिमपातमा कमी आउन थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् ।  

पिसाङका रामबहादुर गुरुङ जाडो मौसममा पहिले जस्तो हिउँ पर्न छाडेको बताउनुहुन्छ । उहाँका अनुसार जाडो याममा हिउँले डाँडाहरू सबैतिर सेताम्मे देखिन्थ्यो, हिजोआज हिमालमा समेत हिउँ छैन, सेता हिमाल काला हुँदै गएका छन् । 

पहिले सात फिटसम्म हिउँ परे पनि हिजोआज एक फिट हिउँ पनि नपरेको रामबहादुर बताउनुहुन्छ । मनाङका अन्नपूर्ण, गङ्गापूर्ण, लमजुङलगायत हिमाल आधाभन्दा बढी भाग कालापत्थरमा रूपान्तरण भइसकेका छन् । हिउँ पर्न छाडेपछि यहाँको तापक्रमसमेत बढ्न थालेको छ । यहाँका हिमनदी पग्लने क्रम बढेको छ । 

मनाङकाे माथिल्लो क्षेत्रमा गएको पुस २१ मा केही मात्रामा हिमपात भए पनि  तल्लो क्षेत्रमा भने अहिलेसम्म भएको छैन । हिमपात नहुँदा चिस्यान नहुने आलु, उवा र फापर छर्ने ठाउँमा जोत्नसमेत कठिन भएको चामे गाउँपालिका–२ कोतोका किसान विनोद लामाले बताउनुभयो  ।

उहाँका अनुसार गएको वर्ष मङ्सिर २८ देखि नै माथिल्लो र तल्लो क्षेत्रमा भारी हिमपात भएको थियो । ‘हिउँ परेमा खेती गर्न सहज हुन्छ । उत्पादन पनि बढ्छ । हिउँले गर्दा, स्याउ, आलु, गहुँ, फापरलगायत बालीलाई फाइदा पुग्छ । किसानले सिँचाइको छुट्टै व्यवस्था गर्नुपर्दैैन’, उहाँले भन्नुभयो  ।

हिउँ पर्न छाडेपछि जिल्लाका लेक र खर्कमा पाइने यार्सागुम्बा, नीरमसी, जटामसी, वनलसुन, कुट्कीलगायत बहुमूल्य जडीबुटी उत्पादनमा समेत कमी आउन थालेको छ । याममा परेको हिउँले बाली सप्रने भए पनि माघ लागिसक्दा समेत हिउँ नपर्दा किसान चिन्तित भएका हुन् ।  

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया