आंशिक प्राध्यापकलाई करारमा नियुक्ति गर्दै त्रिवि

 माघ १२, २०७७ सोमबार ७:२३:११ | रासस
unn.prixa.net

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयले नेपाल आंशिक प्राध्यापक सङ्घसँगको सहमति कार्यान्वयनका लागि शिक्षण सहायक (करार) सरहको पारिश्रमिक पाउने गरी व्यवस्थापन र नियुक्तिको प्रक्रिया सुरु गरेको छ ।

त्रिवि कार्यकारी परिषद्को यही माघ २ गतेको बैठकको निर्णयानुसार रजिष्ट्रारको कार्यालयका प्रमुख वैकुण्ठप्रसाद थपलियाले त्रिवि मातहतका विभिन्न क्याम्पस र विभागमा अध्ययन कार्यमा संलग्न आंशिक शिक्षकको व्यवस्थापनबारे सर्कुलर पठाउनुभएको हो । 

सम्बन्धित क्याम्पसले आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने गरी त्यस्ता शिक्षकको व्यवस्थापनका लागि सूची पठाउन त्रिविले निर्देशन गरेको छ । गएकाे पुस २४ गते विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सातबुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको थियो । 

सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, अनुभव र कक्षाभारका आधारमा शिक्षण सहायक सरह (करार) मा नियुक्ति दिने प्रक्रिया सुरु भएको हो ।

यसरी नियुक्त शिक्षकले क्याम्पसको आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने गरी व्यवस्थापन गर्ने र त्यस्ता शिक्षकले त्रिविको प्राज्ञिक अध्ययन तथा अनुसन्धानमा पनि समावेश हुन पाउने भएका छन् । 

यस्तै शैक्षिक सत्र अध्यापन गरेका आंशिक शिक्षकलाई त्रिवि सेवा आयोग प्रवेशमा उमेर हद नलाग्ने गरी त्रिविले नियम संशोधन गरेको छ । अहिले त्रिविमा करीब दुई हजार आंशिक प्राध्यापक छन्।

सङ्घका महासचिव राजेन्द्र गिरीले विगतका सरकार र नेतृत्वसँग भएका सहमति कार्यान्वयन नभएकामा अहिले सहमति कार्यान्वयन सुरु हुनु सकारात्मक भएको बताउनुभयो । आफूहरु समान कामका लागि समान ज्यालाका लागि लडेकामा त्यसको प्रतिफल प्राप्त हुने आशा बढेको बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया