प्रतिनिधि सभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्छाैँ : प्रचण्ड

 माघ १३, २०७७ मंगलबार १६:४०:६ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – नेपाल कम्युनिस्ट पार्टी नेकपा को दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्ने बताउनुभएको छ । पुराना वामपन्थी नेता खम्बासिंह कुँवरलाई श्रद्धाञ्जली अर्पण गर्दै उहाँले लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझ शक्तिका साथ लड्ने प्रेरणा कुँवरबाट प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

पार्टी एकताका लागि उहाँहरू जस्ता अभिभावकको ठूलो प्रेरणा आफूहरूलाई प्राप्त भएको बताउँदै दाहालले भन्नुभयो, ‘अहिले जो दुर्घटना जस्तो स्थिति देखा परेको छ, यो स्थितिको सामना गर्नका लागि पनि उहाँको हिजोको शिक्षा, योगदान, त्याग, तपस्या सधैँ प्रेरणाका रूपमा आन्दोलनमा रहिरहन्छन् ।’ 

श्रद्धाञ्जली अर्पण गर्नुहुँदै प्रचण्ड

अहिले नेपालका कम्युनिस्ट र राजनीतिक आन्दोलनमा ऐतिहासिक मोड आएको जनाउँदै उहाँले गम्भीर धक्का जस्तो लागेका बेलामा कुँवरको निधनमा भएको शोकलाई शक्तिमा बदल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दाहालले विसं २०३३ मा गोरखाको आरुघाटमा आफू शिक्षक भएका बेला कुँवरसँग चौथो महाधिवेशन चौम पार्टीको सदस्यता लिएको बताउनुभयो । सदस्यता लिएपछि निरन्तर आफूलाई अघि बढाउनमा उहाँको ठूलो योगदान रहेको जनाउँदै पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, ‘कम्युनिस्ट आन्दोलनका अभिभावकका रूपमा र आफ्नै अभिभावकका रूपमा मेरो जीवनमा उहाँको योगदानका कारणले म अहिले योे ठाउँमा आइपुगेको हुँ ।’

यसअघि अध्यक्ष दाहाल र माधवकुमार नेपालद्वारा संयुक्त रूपमा जारी गरिएको शोक वक्तव्य वाचन गरिएको थियो । अध्यक्ष दाहाल कुँवरको पार्थिव शरीरमा माल्यार्पणपछि भरतपुरबाट शव बोकेर देवघाटतर्फ प्रस्थान गर्नुभएको थियो । अध्यक्ष दाहाल गृह जिल्ला आउँदा सधैँजसो कुँवरलाई भेट्ने गर्नुहुन्थ्यो । 

कुँवरको मङ्गलबार नै देवघाटमा अन्त्येष्टि गरिंँदै छ । विसं १९८४ वैशाख १० गते लमजुङको तत्कालीन थानसिंह बाङ्ग्रे गाविस वडा नम्बर ७ मा जन्मिनुभएका कुँवरको मङ्गलबार बिहान भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँ भरतपुर महानगरपालिका वडा नं १० मा बस्दै आउनुभएको थियो ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया