भारतमा किसानको 'ट्र्याक्टर परेड' : दिल्ली हिंसापछि हरियाणमा ‘हाई अलर्ट’

 माघ १३, २०७७ मंगलबार २०:२०:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतमा कृषि कानुनको विरोधमा गणतन्त्र दिवसको अवसरमा दिल्लीमा ‘किसान ट्र्याक्टर मार्च’ को क्रममा विभिन्न ठाउँमा हिंसक घटना भएको छ । दिल्लीमा भएको हिंसक घटनालाई मध्यनजर गर्दै हरियाणामा ‘हाई अलर्ट’ (उच्च सुरक्षा सतर्कता) जारी गरिएको त्यहाँका सञ्चारमाध्मयले जनाएका छन् ।

हरियाणा प्रहरीका महानिर्देशक मनोज यादवले 'हाई अलर्ट' जारी गरि सबै जिल्लाका प्रमुखलाई निकै सतर्क रहन निर्देशन दिएको समाचार संस्था एएनआईले जनाएको छ । 

किसानको र्यालीका कारण दिल्ली मङ्गलबार दिनभर तनावग्रस्त बनेको थियो । किसानहरू दिल्लीको आईटीओदेखि लाल किल्लासम्म पुगेका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार किसानको ट्र्याक्टर र्‍यालीका क्रममा एक जनाको ज्यान गएको छ । प्रदर्शनकारीहरू ती मृत व्यक्तिको शव लिएर आईटीओमा जम्मा भएर विरोध प्रदर्शन गरिरहेका थिए । अहिले प्रदर्शनकारीहरु शव लिएर गाजीपुर बोर्डरतर्फ गएको बीबीसीले जनाएको छ । यद्यपि आईटीओमा घण्टौँसम्म सडक जाम गरेर बसेका प्रदर्शनकारीहरू अहिले भने हटेको बताइएको छ । आईटीओमा अहिले निकै ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको बताइएको छ । 

किसान परेडका क्रममा कैयौँ प्रहरी घाइते भएको दिल्ली प्रहरी कमिश्नर एसएन श्रीवास्तवले जनाएको समाचार एजेन्सीले जनाएको छ । हिंसाका क्रममा सार्वजनिक सम्पत्तिमा पनि क्षति पुगेकाे प्रहरीले जनाएकाे छ । 

दिल्लीका केही क्षेत्रमा सुरक्षा स्थितिलाई मध्यनजर गर्दै अस्थायी रुपमा इन्टरनेट सेवा बन्द गरिएको छ । त्यहाँको गृह मन्त्रालयले एक आदेश जारी गरेर सिंघु, गाजीपुर, टिकरी, मुकरबा चोक, नांगलोई र त्यस नजिकका क्षेत्रमा इन्टरनेट सेवा अस्थायी रुपमा बन्द गरिएको जनाएको छ । 

सरकारले ल्याएको नयाँ कृषि कानुन किसानको अहितमा रहेको र व्यापारीलाई फाइदा पुग्ने भन्दै भारतका किसान महिनौँदेखि आन्दोलनरत छन् ।  

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया