पहिलाे चरणमा बचेको खोप दोस्रो चरणमा प्राथमिकतामा परेकालाई लगाउने तयारी

 माघ २३, २०७७ शुक्रबार ११:०:१५ | रासस
unn.prixa.net

फाइल फाेटाे, रासस

काठमाण्डौ – पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

पहिलो चरणमा चार लाख ३० हजार जनालाई लगाउन योजना बनाएको खोप सबैलाई पुगेर बचेपछि दोस्रो चरणमा प्राथमिकतामा परेकालाई लगाइने भएको हो । यही माघ १४ गतेदेखि सुरु गरिएको खोप अहिलेसम्म एक लाख ४५ हजार आठ सय ४४ जनाले लगाएपछि खोप बच्न सक्ने भएकाले ती खोप दोस्रो चरणमा प्राथकितामा परेका व्यक्तिलाई दिइने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

भारत सरकारले १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । त्यही खोप चार लाख ३० हजार प्राथमिकतामा परेका व्यक्तिलाई यही माघ २४ गतेसम्म लगाइँदैछ । खोप लगाउन अझै तीन दिन बाँकी छ । ‘अहिलेसम्म हामीले स्वास्थ्यकर्मीलाई मात्र लगाएका थियौँ’, उहाँले भन्नुभयो, ‘ यो तीन दिनमा बढी जनसङ्ख्यालाई लगाउने भएका छौँ । अब प्राथमिकता परेका अध्यागमन कार्यालय, भन्सार कार्यालय, अन्तर्राष्ट्रिय विमानस्थल र वृद्धास्थलमा गएर खोप लगाउँछौँ ।’

मन्त्रालयका प्रवक्ता डा. गौतमले अनुमान गरेभन्दा स्वास्थ्यकर्मी देशबाहिर रहेकाले खोप बच्न सक्ने बताउनुभयो । मन्त्रालयले सरकारी स्वास्थ्यकर्मी ३० हजार, महिला स्वास्थ्य स्वयंसेविका ६० हजार र स्वास्थ्य काउन्सिलमा दर्ता भएका दुई लाख ५० हजारलाई खोप लगाउने लक्ष्य राखेको थियो । तर धेरै स्वास्थ्यकर्मी काउन्सिलमा दर्ता भए पनि देशबाहिर रोजगारी गरिरहेकाले लक्ष्यभन्दा कम स्वास्थ्यकर्मीले खोप लगाएको उहाँको भनाइ छ ।

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रम रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीलाई राखेको थियो । सरकारले तीन प्रतिशत जनसङ्ख्यालाई खोप दिने लक्ष्यका साथ पहिलो चरणमा पनि प्राथमिकतामा परेका व्यक्तिलाई खोप दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले बचेको खोप लगाउनेबारे छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले बचेको खोप र दोस्रो चरणको खोपसँगै लगाइने बताउनुभयो ।  

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया