आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन

 माघ २७, २०७७ मंगलबार ११:३२:० | रासस
unn.prixa.net

मकवानपुर - वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी अर्थात् छाेरी सम्मेलन हुने भएको छ ।

मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरी बेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौँडामा माघ २९ गतेसम्म तीन दिने तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुन लागेको हो ।

समाजमा हुने महिला हिंसालगायत विभिन्न 'कू' प्रथाविरुद्ध र लैङ्गिक समानता र समावेशी अधिकारका लागि ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ भन्ने मूलनाराका साथ सम्मेलन आयोजना गरिएको सम्मेलन मूल आयोजक कमिटीका संयोजक नजबुल खानले जानकारी दिनुभयो ।

सम्मेलनमा देशभरबाट १०० जनाको प्रतिनिधिमूलक सहभागिता रहने कार्यक्रममा ७५ प्रतिशत महिला र २५ प्रतिशत पुरुष रहनेछन् ।  सम्मेलनमा करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने कार्यक्रम रहेको छ । यसअघि प्रदेश नं १ मा पहिलो बेटी सम्मेलन र प्रदेश नं २ मा दोस्रो बेटी सम्मेलन सम्पन्न भइसकेको छ ।

मिसन नोट अफ डिसेन्ट आभासा राष्ट्रिय अभियान केन्द्रीय सञ्जाल र मूलधार महिला सेवा केन्द्र मासबेस उदयपुरको आयोजनामा विसं २०७५ माघ २७ देखि २९ गतेसम्म प्रदेश नं १ उदयपुरको गाईघाटमा ‘सहन नपरोस् हिंसा र दुर्व्यवहार : शिक्षा र स्वास्थलाई बनाऔँ चेलीबेटी सशक्तीकरणको हतियार’ भन्ने मल नाराका साथ प्रथम राष्ट्रिय बेटी सम्मेलन सम्पन्न भएको थियो ।

विसं २०७६ माघ २७ देखि २९ गतेसम्म प्रदेश नं २ को राजधानी जनकपुरमा ‘विकृतिका बन्धनहरु तोड्दै अघि बढाैँ, मेची–महाकाली जोड्दै हिंसारहित समाज निर्माण गरौँ’ भन्ने मूल नाराकासाथ दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गरिसकेको जनाइएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया