विद्यालय छ, विद्यार्थी छैनन्

 फागुन ३, २०७७ सोमबार १३:२६:१ | रासस
unn.prixa.net

बारा – सदरमुकाम कलैयाबाट झण्डै १० किलोमिटर पूर्वमा एउटा त्यस्तो विद्यालय छ जहाँ शिक्षक छन् र विद्यार्थी भने छैनन्, सुन्दा अचम्म लाग्छ । यो सत्य हो । कलैयाको महागढीमाई नगरपालिका ४ मल्हनी टोलमा रहेको बाल विकास प्राथमिक विद्यालय विगत एक वर्षदेखि विद्यार्थीविना सञ्चालनमा छ । 

यस विद्यालयमा एक प्रधानाध्यापक, एक बाल विकास शिक्षिका र एक कार्यालय सहयोगी गरी तीन कर्मचारी रहे पनि विद्यार्थी नभएपछि शिक्षक घाम तापेर दिन बिताउने गरेका छन् । विद्यार्थी नहुँदा शिक्षक विद्यालय आएर हाजिर लगाएर जाने गरेका छन् । विद्यालयमा विद्यार्थी नभए पनि त्यहाँ रहेका शिक्षक भने तलब भत्ता खाएर दिन बिताउने गरेको र विद्यालयको अनुगमन नहुँदा विद्यालयमा एक विद्यार्थी पनि नभएको प्रधानाध्यापक शर्मानन्दप्रसाद साहको गुनासो छ । उहाँले विद्यालयमा विद्यार्थी भएको कुनै रेकर्ड नै नभएको समेत बताउनुभयो । 

विगत लामो समयदेखि राजनीतिक अखडाका रूपमा विद्यालय रहेकाले पठनपाठन प्रभावित हुने हुँदा विद्यार्थीको उपस्थिति नभएको स्थानीयवासीको गुनासो छ । पटक–पटक विद्यालय सुधारका लागि स्थानीय निकाय, वडा कार्यालय तथा विद्यालय व्यवस्थापन समितिलाई जानकारी गराउँदासमेत कसैले विद्यालयप्रति चासो नराखेकाले यस्तो अवस्था आएको हो । 

विद्यालय पालिकामा आएपछि शिक्षा क्षेत्रमा देखिएको समस्याबारे जिज्ञासा राख्दा महागढीमाई नगरपालिका शिक्षा विकास शाखाका प्रमुख रामविश्वासप्रसाद चौरसियाले यस विद्यालयका प्रधानाध्यापक साहको कमी कमजोरीका कारण विद्यालयमा विद्यार्थीको सहभागिता न्यून रहेको बताउनुभयो । 

यस विद्यालयलाई चैत महिनासम्ममा विद्यार्थी जुटाउन आदेश दिएको र त्यस समयमा विद्यार्थी जुटाउन नसके विद्यालयलाई समायोजन प्रक्रियामा लग्ने नगरपालिकाले जनाएको छ । विद्यालयमा व्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात लगेकाले त्यहाँबाट केही निर्णय नआएसम्म कुनै कदम चाल्न नसक्ने नगरप्रमुख उपेन्द्रप्रसाद यादवले बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया