हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् : प्रधानमन्त्री ओली

 फागुन ४, २०७७ मंगलबार ९:३१:१० | रासस
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

वसन्त पञ्चमी (श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना गर्नुभएको हो । 

वैदिककालदेखि नै प्रज्ञा प्रकाशको प्रतीकका रुपमा सरस्वती पूजा मनाइँदै छ । प्रधानमन्त्री ओलीले जनताको जीवनमा खुशी भर्न हामीले समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताउनुभयो । उहाँले यतिबेला हामी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर रहेको जानकारी दिनुभयो ।

'राष्ट्रको समृद्धि जनताको सुखसँग जोडिएको छ र सुख खुशीसँग जोडिएको छ', उहाँले भन्नुभयो, 'हामी नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर र अव्यवस्थाबाट सदाचारतिर अघि बढाइरहेका छौँ । यसबाट समृद्ध नेपाल–सुखी नेपालीको आकाङ्क्षा पूरा हुनेछ ।'

सरस्वती पूजाको दिनलाई स-साना बालबालिकाको अक्षरारम्भ गर्ने दिवसका रुपमा पनि लिइन्छ ।  वेदाङ्ग ज्योतिषकालदेखि सनातन रुपमा मनाइँदै आएको यस पर्वको सम्बन्ध प्राकृतिक काल विभाजनसँग पनि रहेको छ । एक वर्षलाई छ वटा ऋतुमा विभाजन गरी माघशुक्ल पञ्चमीलाई वसन्त ऋतुको आरम्भका रुपमा लिइएको छ । 

वसन्त ऋतुलाई सृष्टिकारक तथा मनोविनोदको ऋतुका रुपमा पनि लिइन्छ । वसन्त सुरु भएपछि फूलहरूमा बहार आउँछ, पुष्पसुगन्ध फैलिन्छ, रुखहरुमा पालुवा पलाउन थाल्छ र मानिस, चराचुरुङ्गी र रङ्गीन पुतलीको मन फुरुङ्ग हुन्छ भन्ने विश्वास छ । 

सरस्वतीलाई विद्याकी देवीका रुपमा पूजा गर्ने हाम्रो प्राचीन ज्ञान शास्त्रीय प्रचलन छ । यसमा ज्ञानलाई प्रकाश मानिएको छ र प्रकाशको उपस्थितिले अन्धकार, भय र अज्ञानता हट्ने उल्लेख छ । वैदिक मान्यताअनुसार सरस्वतीका शब्दलाई ब्रह्‍म, अक्षरलाई अनन्त र यन्त्रलाई नादको स्रोत मानिन्छ ।

सभ्यताको विकासक्रमसँगै सरस्वतीलाई बौद्धमार्गीहरुले मञ्जुश्रीका नामले पूजा गर्ने गरेका छन् । असल वा खराबको पहिचान गर्ने प्रकाशमय वुद्धि, संयम र विवेकको प्रतीकका रुपमा सरस्वतीलाई लिइन्छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया