काठमाण्डौको खुलामञ्च खुला गरिँदै : अतिक्रमण गरेर बनाइएका संरचना हटाइयो

 फागुन ५, २०७७ बुधबार ९:३८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ । राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माणको काम सम्पन्न हुने चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाइ महानगरपालिकाले खुला गर्न थालेको हो ।​

‘राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि उनीहरुको आग्रहमा सहमति दिएका थियौँ’, काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘वीर अस्पताल र दरबार हाईस्कुलको पुननिर्माण सम्पन्न चरणमा पुगेपछि हामीले जानकारी गराएर खुलामञ्चलाई खुला गर्ने अभियान थालेका हौँ ।’
मेयर शाक्यले विस्तारै बसपार्क पनि खुला गर्ने जानकारी दिनुभयो । 

‘काठमाण्डौ महानगरपालिका सार्वजनिक जग्गाको संरक्षण अभियानमा लागि परेको छ,’ शाक्यले भन्नुभयो, ‘खुलामञ्च मात्रै होइन महानगर क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गालाई खोजी गरी पार्क बनाउने, खुला राख्ने जस्ता अभियान चलाएको छ । अतिक्रमणबारे कतै जानकारी छ भने हामीलाई भन्नुहोला ।’ 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि मेयर शाक्यको निर्देशन अनुसार नै खुलामञ्च खुला गर्ने अभियान थालेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोभिड–१९ को कहरलगायतका कारण संरचना निर्माणमा केही ढिलाई भएकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री हटाउन केही ढिलाई भएको हो ।’

दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरण भैसकेको छ भने वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा छ । प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले केही दिनभित्रै सबै खुला हुने बताउनुभयो । उहाँले पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विरोध प्रदर्शन, र्‍याली, आमसभा लगायतले महानगर क्षेत्र भित्रका सडकहरु अस्तव्यस्त बन्ने गरेको र त्यसको मार महानगरवासीले खेप्नु परेकोप्रति थप ध्यानाकर्षण भै महानगरपालिकाले अझ छिटो भन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको बताउनुभयो ।

‘विभिन्न राजनीतिक दलले सडकमै मञ्च बनाएर ठूला–ठूला सभा गर्दा पछिल्लो समय महानगरपालिका क्षेत्र भित्रको ट्राफिक आवागमनसँगै व्यापार–व्यवसाय पनि अस्तव्यस्त बन्ने गरेको छ,’ ज्ञवालीले भन्नुभयो, ‘प्राचीन कालदेखि काठमाण्डौको खुला स्थलको पहिचान बनाएको खुलामञ्चलाई खुला नै बनाउँछौँ । अस्थायी बसपार्कका लागि अर्को व्यवस्थापन नहुन्जेल खुलामञ्चमा ठुला आमसभा गर्ने अवस्थामा महानगरपालिकाले समन्वय गरी आमसभा गर्ने दिन गाडीको आवागमन अस्तव्यस्त नहोस् भन्नका लागि गाडीलाई टुँडिखेल घुमाई बसपार्क समेत खुला गर्नेसम्मको तयारी छ ।’ 

काठमाण्डौ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणलाई पत्र काटेरै हिजो मंगलबारसम्म खाली गर्ने वातावरण बनाउन आग्रह गरेको जानकारी दिनुभयो । ‘हामीले हिजोसम्म खाली गर्न ती निकायलाई भनेका थियौँ,’ सापकोटाले भन्नुभयो, ‘ आजदेखि हटाउन सुरु गर्यौँ ।’  

केही दिन अघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपलकुलपति टीएन शाहले पनि ठेकेदार कम्पनीले दिएको प्रतिवेदन अनुसार वीर अस्पताल निर्माणको ९० प्रतिशत बढी काम सम्पन्न भएको भन्दै थप छलफल गरी जतिसक्दो छिटो खुलामञ्च खुला गर्न पहल गर्ने बताउनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया