विद्यार्थीले बनाए गुरुका लागि घर

 फागुन ५, २०७७ बुधबार १३:२७:४६ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

चितवन खैरहनीनगरपालिका–१ मा रहेकाे कङ्काली माविका पूर्वविद्यार्थीले आफूहरुलाई शिक्षा दिने शिक्षक (गुरु) पशुपतिलाल कर्णलाई घर निर्माण गरेका छन् ।

घर बनाउन कङ्काली मावि पूर्वविद्यार्थी समाजले अभियान नै सञ्चालन गरेर सहकर्मीहरुसँग रकम सङ्कलन गरेको थियो । स्वतस्फूर्तरुपमा पूर्वविद्यार्थीले रकम सहयोग गरेका थिए । त्यही विद्यालयमा लामो समयसम्म अध्यापन गराएका शिक्षक कर्णका लागि विद्यार्थीले ‘गुरु आवास’नाम दिएर सुविधायुक्त घर निर्माण गरेको पूर्वविद्यार्थी समाजका अध्यक्ष अर्जुन लम्सालले बताउनुभयो ।

घर निर्माणमा झण्डै २४ लाख रुपैयाँ खर्च भएको छ । चार लाख जिन्सीसहित २४ लाख रुपैयाँमा घर निर्माण गरिएको अध्यक्ष लम्सालले बताउनुभयो । घरमा फर्निचरदेखि ‘वासिङ मेशिन’सम्म व्यवस्था गरिएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण घर हस्तान्तरणमा ढिलाइ भए पनि सरस्वतीपूजाका अवसर पारेर उपहार प्रदान गरिएको अध्यक्ष लम्सालले बताउनुभयो । शिक्षक कर्णको यहाँ आफ्नै घर छैन । कङ्काली माविअगाडि शिक्षक आफैँले थोरै जग्गा खरीद गरे पनि घर निर्माण गर्न सक्नुभएको थिएन ।

नयाँ घर मङ्गलबार सरस्वतीपूजाका अवसर पारेर हस्तान्तरण गरिएको छ । नेपाली सिने क्षेत्रका महानायक राजेश हमालको प्रमुख आतिथ्यतामा एक समारोहबीच घर शिक्षक कर्णलाई हस्तान्तरण गरिएको थियो । यही अवसरमा महानायक हमालले विद्यार्थीहरुले नमूना काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

“शिक्षकप्रति पूर्वविद्यार्थीले देखाएको माया उत्कृष्ट छ”, महानायक हमालले भन्नुभयो ।    शिक्षक कर्णले नयाँ घर पाउँदा खुशीको सीमा नरहेको प्रतिक्रिया दिनुभयो । घर प्राप्त गरेपछि शिक्षक कर्णले खुशी व्यक्त गर्दै भन्नुभयो, “विद्यार्थीको यो कामको उच्च सम्मान गर्छु ।”

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया