सेनाले भन्याे, ‘फास्ट ट्र्याककाे जटिल काम गर्ने निर्माणकर्ता छान्ने प्रक्रियामा अनियमितता भएकाे छैन’

 फागुन ५, २०७७ बुधबार १८:१५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली सेनाले काठमाण्डाै–तराई द्रुत मार्ग (फास्ट ट्र्याक) को जटिल कार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रिया पारदर्शी भएको दाबी गरेको छ ।

सङ्घीय संसद् राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा काठमाण्डाै–तराई द्रुत मार्गअन्तर्गत 'फेज टु' का ठेक्का विषयमा परेको उजुरीमाथि भएको छलफलमा नेपाली सेनाले द्रुत मार्गको जटिल कार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रियामा कुनै अनियमितता नभएको दाबी गरेको हो ।

समितिमा काठमाण्डाै–तराई द्रुत मार्गको जटिल कार्य गर्ने निर्माणकर्ता छान्नका लागि नेपाली सेनाले पूर्वयोग्यता निर्धारण गर्न मागेको आवेदनमा आवश्यकभन्दा कम कम्पनी छानेकाे भन्दै उजुरी परेको थियो ।

नेपाली सेनाले पूर्वयोग्यता परीक्षणमा नेपाली कम्पनी बाहिर पारिएको भन्दै विरोध भइरहेको छ । यसै विषयमा समितिले द्रुत मार्ग हेर्ने नेपाली सेनाका अधिकारीहरूलाई बोलाइ स्पष्टीकरण साेधेकाे हो । छलफलमा नेपाली सेनाका महासेनानी एवं खरिद व्यवस्थापन महाशाखाका प्रमुख सुनिलसिंह राठोरले सार्वजनिक खरिद ऐनअनुसार नै पूर्वयाेग्यता निर्धारण गरिएको बताउनुभयो ।

आयोजनाको निर्माण कार्य वि.सं. २०८१ मा सम्पन्न गर्नुपर्ने भएकाले तत्काल टेण्डर आह्वान गरी निर्माण कार्यलाई तीव्रता दिने प्रक्रिया सुरु गरिएको पनि उहाँले बताउनुभयो । नेपाली सेनाले पूर्वयोग्यताका लागि २०७६ फागुन ३० गते सार्वजनिक रूपमा आवेदन आह्वान गरेको थियो ।

२०७६ चैत ११ गतेदेखि लकडाउन भएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले २०७६ चैत २५ गते पठाएको पत्रअनुसार म्याद थप गरी २०७७ भदौ ३० गते मात्रै प्रि–सबमिसन मिटिङ गर्न सफल भएको पनि महासेनानी राठोरले बताउनुभयो । प्रि–सबमिसन मिटिङमा २१ जना प्रतिनिधिको उपस्थिति रहेको र उपस्थित हुन नसकेकाहरूलाई जानकारी गराइएको उहाँकाे भनाइ छ । त्यसपछि २०७७ असोज १४ गते खोलुवा मुचुल्का तय गर्दा प्याकेज नं. १ मा २१ वटा र प्याकेज नं. २ मा २२ वटा अन्तर्राष्ट्रिय कम्पनीको आवेदन परेको थियो । यस्तै २०७७ पुस ९ गते मूल्याङ्कन समितिले गरेको मूल्याङ्कनअनुसार प्याकेज नं. १ मा दुई जना र प्याकेज नं. २ मा एक जना अन्तर्राष्ट्रिय कम्पनी सूचीकृत भएको महासेनानी राठोरले बताउनुभयो ।

द्रुत मार्ग आयोजनाका प्रमुख विकास पोखरेलले काठमाण्डाै–तराई द्रुत मार्गमा जटिल किसिमको काम गर्नुपर्ने ठाउँहरूलाई ११ वटा क्लस्टरमा विभाजन गरिएको बताउनुभयो । त्यसमध्ये ५ र ६ नम्बर क्लस्टर अति जटिल भएकाले निर्माणकर्ता छनोट गर्दा पूर्वयोग्यता निर्धारण गर्नुपरेको र सार्वजनिक खरिद नियमावलीअनुसार नै त्याे कार्य सम्पन्न गरिएको बताउनुभयो ।

काठमाण्डाै–तराई द्रुत मार्ग ७२ दशमलव ५ किलोमिटरको रहेको छ । जसमा तीन वटा सुरुङ मार्ग र ८७ वटा पुल निर्माण हुनेछन् । बाटोको चौडाइ पहाडमा २५ मिटर र तराईमा २७ मिटर रहनेछ । द्रुत मार्गमा पर्ने तीन वटै सुरुङ मार्गको लम्बाइ ६ किलोमिटर हुनेछ भने ८७ वटा पुलको कुल लम्बाइ १० किलोमिटर रहने छ ।  

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया