पत्रकारिता क्षेत्रका विकृति, विसङ्गति हटाउन केन्द्रित छु : मन्त्री गुरुङ

 फागुन ५, २०७७ बुधबार २०:४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रका विकृति, विसङ्गति हटाइ सम्मानित र जवाफदेही बनाउन आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभएको छ ।

बुधबार नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनमा बोल्दै मन्त्री गुरुङले आफ्नो एक मात्रै ध्यान पत्रकारिता तथा आमसञ्चार क्षेत्रलाई सम्मानित र जवाफदेही बनाइ गरिमालाई उच्च राख्नुतर्फ रहेको बताउनुभएको हो । पत्रकारिता क्षेत्रमा रहेका विकृति, विसङ्गति र अनुशासनहीन गतिविधिहरूलाई कसरी सुधार गर्न सकिन्छ भन्नेमा आफ्नो अर्जुनदृष्टि रहेको उहाँको भनाइ छ ।

संविधानले दिएको प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताप्रति आफूले सम्मान गर्ने भन्दै उहाँले सरकारले प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको भन्दै शङ्का नगर्न पनि मन्त्री गुरुङले आग्रह गर्नुभयो ।

उहाँले पत्रकारहरूले भोग्ने गरेको प्रेस पासको समस्या समाधान गर्न आफूले ध्यान दिएको बताउनुभयो । प्रेस पास नवीकरण हुलाक कार्यालयबाटै गर्न सकिने निर्णय गराएको उहाँको भनाइ छ । प्रेस पास वर्षैपिच्छे नवीकरण गर्ने व्यवस्थाको अन्त्य गर्दै प्रेस पासको अवधि न्यूनतम पाँच वर्ष पुर्‍याउनका लागि मन्त्रालयको तर्फबाट प्रक्रिया अगाडि बढाउने पनि उहाँले जानकारी दिनुभयो । त्यसैगरी पत्रकारिकता क्षेत्रलाई गुणस्तरीय बनाउनका लागि पत्रकारका लागि प्रशिक्षण केन्द्र स्थापना गर्न आउँदाे आर्थिक वर्षमा नीति, कार्यक्रम तथा बजेट ल्याउने मन्त्री गुरुङको भनाइ छ ।

उहाँले अनलाइन सञ्चारमाध्यमहरू पुस मसान्तसम्म नवीकरण गरिसक्नुपर्ने व्यवस्थाको अन्त्य गर्दै वर्षभरि नवीकरण गर्न सकिने व्यवस्था गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चारमाध्यम तथा केवल टिभीलाई पनि दिन सकिने गरी कार्यविधि बनाउने तथा लोक कल्याणकारी विज्ञापनको कोष वृद्धि गर्ने मन्त्री गुरुङले बताउनुभयो ।

मन्त्री गुरुङले हिंसा, अशान्ति, द्वन्द्व सिर्जना हुने खालका सूचनाकाे व्यवस्थापनको बारेमा सोच्दै सरकारले सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका ल्याउनेतर्फ ध्यान गएको बताउनुभयो । सोसल मिडियाहरू पनि कानुनी प्रक्रियामा आउनुपर्ने उहाँको भनाइ छ ।

विश्वभर सामाजिक सञ्जाल नियमन गर्नेबारे छलफल चलेको भन्दै उहाँले नेपालमा पनि सामाजिक सञ्जाल नियमन आवश्यक रहेको बताउनुभयो । उहाँले दश करोड रुपैयाँको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने पनि बताउनुभयो ।

यसैबीच मन्त्री गुरुङले आउँदाे वैशाख १७ र २७ गते चुनाव हुने भन्दै त्यसकाे तयारीमा लाग्नुपर्ने पनि बताउनुभयो ।   

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया