प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेस

 फागुन ९, २०७७ आइतबार १६:३६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस भएको छ । आइतवार बसेको प्रदेश संसद् बैठकमा प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्नुभएको हो ।

मुख्यमन्त्री राईविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले गएको पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । मुख्यमन्त्री राईविरुद्ध नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेश सभा नियमावली २०७४ को १२९ (१) बमोजिम अविश्वासको प्रस्ताव पेस भएको नेकपा प्रचण्ड–नेपाल समूहले जनाएको छ ।

नेकपाको ओली समूहले नेकपा राजनीतिक रूपमा फुटे पनि कानुनी रूपमा नफुटेको भन्दै अविश्वासकाे प्रस्तावको वैधानिकताबारे प्रश्न गर्दै आएको छ ।

आइतवार पनि बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर अविश्वासकाे प्रस्ताव वैधानिक नभएको स्मरण गराउनुभएको थियो । तर सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सरकार तथा ओली पक्षका सांसदको उपस्थिति विनै बैठक राखेर मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेस गर्न अनुमति दिनुभएको  छ ।

अविश्वास प्रस्ताव पेस हुनेबित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले बैठक आउँदाे २० गतेसम्मका लागि स्थगित गर्नुभएको छ । अविश्वासकाे प्रस्तावमाथि फागुन २० गतेदेखि छलफल हुने बताइएको छ ।   

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया